
काठमाडौँ। नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीनिकट नेता नेपालीले शनिबारदेखि काठमाडौँमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेता नेपालीले दलित समुदायका मुद्दालाई पार्टी र राज्यको नजरमा स्थापित गर्न एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।
‘मैले पार्टीमा झण्डै तीन दशकदेखि काम गरिरहेको छु । विद्यार्थी बेलादेखि संगठनमा लागेर, दलित, महिला र युवाको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव मसँग छ, समुदायसँग जोडिएर जनताको चाहना र भावनाबमोजिम चल्नसक्ने पार्टी बनाउनुपर्छ भनेर लागिरहेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारी त्यसैकालागि हो ।’
उनले दलित समुदायमाथि राज्यले गर्दै आएको विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफू निरन्तर लड्दै आएको भन्दै त्यस्तो विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफूले भूमिका खेल्ने बताए ।

तेह्रथुमका नेता नेपाली जिल्लाको राजनीतिमा प्रभावशाली नेता हुन् । गैरसरकारी संघसंस्था र सामाजिक क्षेत्रमार्फत नेपालीले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
०५३ सालमा नेकपा एमालेको सदस्यता लिएका नेपाली हाल मुक्ति समाज नेपालको केन्द्रीय महासचिव हुन्। उनी पार्टीको कोशी प्रदेश सचिवालय सदस्य समेत छन्।
०५५ सालमा उनी अनेरास्ववियुको जिल्ला अध्यक्ष भए । त्यसअघि ०५२ सालमै दलित मुक्ति समाजको जिल्ला सचिव भएका थिए । उनले मुक्ति समाजका विभिन्न तहमा बसेर काम गरिसकेका छन् ।
उनी समाजको केन्द्रीय कमिटी सचिव समेत भए । उनी नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य र सामाजिक सेवा तथा समावेशीकरण फाँट ईन्चार्ज भएर काम गरे ।
त्यस्तै, उनी ०६८ सालदेखि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य र कोशी अञ्चल समन्वय कमिटी सदस्यमा रही समावेशीकरण तथा सुरक्षा विभाग प्रमुखको रूपमा काम गरिसकेका छन् । दलित समुदायको सामान्य परिवारमा ०३० सालमा जन्मिएका नेपाली स्नातकोत्तर हुन् ।
८औँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका नेपाली केन्द्रीयस्तरमा भने अवसर नपाएका नेता हुन्।







