
काठमाडौं । पछिल्ला दिनमा फेसबुकलगायत सामाजिक सञ्जालका एकाउन्टहरू धमाधम ह्याक भइरहेका छन्। ह्याक भएका एकाउन्टको मेसेन्जरबाट सम्बन्धित व्यक्तिका फ्रेन्ड्स र परिवारका सदस्यहरूसँग रकम माग्ने ह्याकरहरू निकै सक्रिय देखिन्छन्।
सामाजिक सञ्जालहरूमा व्यक्तिगत तस्बिर र भिडियो अपलोड गर्ने तथा मेसेन्जरमार्फत च्याट गर्ने प्रचलन छ। त्यसैले आफ्ना निजी डेटालाई सुरक्षित गर्न निकै चुनौति देखिएको छ।
त्यसरी आफ्ना निजी डेटाहरू सुरक्षित राख्न सबैभन्दा सरल र प्रभावी तरिका भनेको स्ट्रङ पासवर्ड हो। किनकि, पासवर्ड नै आफ्नो आईडी ह्याकरबाट जोगाउने एक मात्र तरिका हो। र, पासवर्ड नै आईडीमा छिर्ने एक मात्र ढोका पनि हो।
कसैले तपाईंको एकाउन्ट ह्याक गरिदियो भने धेरै व्यक्तिगत र गोप्य जानकारीहरू प्राप्त गर्न सक्छ। र, तपाईंलाई ब्ल्याकमेल गर्न सक्छ। त्यसैले आफ्ना आईडीहरूमा स्ट्रङ पासवर्ड राख्नु अति जरुरी छ।
कसरी राख्ने स्ट्रङ पासवर्ड ?
– पासवर्डमा अपर केस र लोअर केस तथा स्पेसल क्यारेक्टरको उपयोग गर्नूस्।
– सबै सामाजिक सञ्जाल एकाउन्टका लागि अलग-अलग पासवर्ड राखौं
– सबै एकाउन्टका पासवर्डहरू १२ देखि १६ अक्षरका हुनु अत्यावश्यक छ
– हरेक २ महिनामा सबै जरुरी एकाउन्टको पासवर्ड परिवर्तन गरिरहनुपर्छ
– यस्तो पासवर्ड बनाउनूस्, जसमा कुनै अक्षर दोहोरिएको हुनु हुँदैन
– पासवर्डमा त्यस्तो शब्द हुनु हुँदैन, जो अक्सर प्रयोग गरिरहनु हुन्छ। त्यस्ता शब्द ह्याकरले सहजै पत्ता लगाउन सक्छ।
– आफ्नो पासवर्ड, मोबाइल सेट, इमेल र कुनै डायरीमा लेखेर नराख्नूस्
– पासवर्ड याद राख्ने कुनै अन्य तरिका अपनाउनूस्
पासवर्डमा नगरौं यस्ता शब्द चयन
– आफ्नो घरपालुवा जनावरको नाम पासवर्डमा नराखौं
– आफ्नो र परिवारका सदस्यहरूको जन्म मितिको पासवर्ड नबनाउनूस्
– आफ्नो हबी र जागिरसँग सम्बन्धित कुनै शब्द नराख्नूस्
– आफ्नो घरको नाम र ठेगाना पासवर्डमा नराख्नूस्
– आफ्नो परिवारको कुनै सदस्यको नाम पनि पासवर्डमा नराख्नूस्
– आफ्नो मोबाइल नम्बर या अन्य कुनै व्यक्तिगत जानकारी पनि पासवर्डमा सामेल नगर्नूस्







