
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेलाई आगामी निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासमा साथ दिन आग्रह गरेका छन् ।नेकपा एमालेको ११ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले घोषित मितिमा निर्वाचनमा भाग लिएर अहिलेको संकट समाधानका लागि आग्रह गरेका छन् ।
‘एमाले लामो समय निर्वाचनमा सहभागी भएको अनुभवी दल हो, अहिलेको संकट समाधान गर्न निर्वाचनबाट नयाँ नेतृत्वको विकल्प छैन त्यसैले एमालेले आगामी निर्वाचन समयमै गरेर लोकतन्त्रलाई लिगमा ल्याउने अभियानमा साथ देओस् यो महाधिवेशनले पार्टीलाई यो बाटोमा अघि बढाओस् ।’ उनले भने ।
महामन्त्री बुर्लाकोटीले जेनजी आन्दोलनमा भएको क्षतिको विषयमा तत्कालीन सरकार र त्यसअघि जिम्मेवारीमा रहेका सबै दलहरुले जिम्मेवारी लिनुपर्ने र त्यो जिम्मेवारी आफ्नो पार्टी पनि केही समय सरकारमा रहेकाले प्रतिशतका आधारमा दिन आग्रह गरे ।
‘साढे ३ दशक देशमा सरकार चलाएका दलहरुको कामप्रतिको असन्तुष्टि नै हो, विद्रोह नै यद्यपि त्यसमा केही उक्साहटमा पनि यस्तो भएको पाइएको छ, यो क्षतिको दोष यसअघि सरकारको विभिन्न जिम्मेवारीमा रहेका दलहरुले लिनुपर्छ, रास्वपाले प्रतिशतका आधारमा हामी लिन तयार छौं’ महामन्त्री बुर्लाकोटी बताउछन् ।
नेता बुर्लाकोटीले लोकतान्त्रिक मुलुकमा दलहरुको आन्तरिक लोकतन्त्र जरुरी भएको जनाए । उनले विदेशमा बस्ने नेपालीलाई सोही भूगोलबाट मत दिने अधिकारको व्यवस्थापन गर्न र देशभित्र पनि बाहिर बसेकालाई त्यहीबाट भोट दिने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
बुर्लाकोटीले सहकारी काण्डमा अनाहकमा आफ्ना पार्टी सभापति रवि लामिछानेलाई तत्कालीन सरकारले प्रतिशोधका आधारमा थुनेर राखेको आरोप लगाउँदै अरु दलका सो भन्दा ठूलो रकमका मुछिएको आरोप लागेकाहरु खुलमखुला हिंडेको बताए । त्यस्तै उनले शिक्षा क्षेत्रमा भएको राजनीतिक संरक्षण सबै दलहरु मिलेर हटाउनुपर्ने पनि भनेका छन् ।







