
कालिकोट । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोटमा कांग्रेसले प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्रजंग शाहीको नाम सिफारिस गरेको छ।
नेविसंघ, तरुण दल हुँदै पार्टी राजनीतिमा आएका शाही पार्टीभित्र मात्रै नभई बाहिर पनि लोकप्रिय छन्। युवाहरूको क्षमता विकास र सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएका शाही यसअघि २०७० र २०७४ मा पनि कालिकोटबाट उम्मेदवार थिए।
दस वर्षे जनयुद्धको केन्द्र बनेको कालिकोट वामपन्थी दलहरूको आधार इलाकामध्येकै एक हो। तर शाहीले कालिकोटबाट सधैँ लोकप्रिय मत पाउँदै आएका छन्। ०७० मा लोकप्रिय मत पाएका उनी ०७४ मा बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए। यसपटक भने जेन-जी आन्दोलनपछिको राजनीतिक परिस्थितिले शाहीको माहोल बनेको छ। नयाँ पुस्ताका युवा र विद्यार्थीहरूले नै शाहीलाई अघि सारिरहेका छन्।
नेविसंघ जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै उपसभापति बनेका शाही तरुण दलको महामन्त्री बनिसकेका छन् । पार्टीको १४औँ महाधिवेशनमा शाही कर्णाली प्रदेश सभापतिको प्रत्यासी थिए।
जिल्ला कार्यसम्पादन समितिको बैठकले शाहीसहित ३ जनाको नाम सिफारिस गरेको पार्टी सचिव मातृका सिंहले बताए ।
‘आकांक्षी त धेरै थिए,’ उनले भने, ‘युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनालाई सिफारिस गरेर केन्द्रमा नाम पठायौँ।’ उनका अनुसार जिल्ला सभापति अम्बबहादुर शाही र सीता रावलको नाम पनि सिफारिस भएको छ।
समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित)को नाम सिफारिस भएको छ।







