
इलाम। जेन-जी आन्दोलनपछि निस्तेज बनेको नेपालकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी—नेपाली कांग्रेस—यतिबेला गाउँदेखि केन्द्रसम्म फेरि गतिशील बनेको छ। गाउँ, क्षेत्र र जिल्लास्तरमा भइरहेका बैठक तथा छलफलले अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिस भइरहँदा कतिपय जिल्लामा विवादसमेत देखिएको छ। यसले कांग्रेसभित्र चुनावी सरगर्मी मात्र बढाएको छैन, नेता र कार्यकर्ताबीच प्रतिस्पर्धा पनि चर्काएको छ। जेन-जी आन्दोलनको भावना विपरीत पुरानै र स्थापित नेताहरूको नाम दोहोरिँदै सिफारिस भइरहेको विषयलाई लिएर कतिपय स्थानमा नेता, कार्यकर्ता र समर्थकबीच आक्रोशसमेत देखिन्छ।
तर यी विवाद र पुराना अनुहारको भीडबीच पनि केही आशाका संकेत देखिएका छन्। कतिपय जिल्लाहरूमा ऊर्जावान, योग्य र नयाँ पुस्ताका युवाहरूको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ, जसले युवापुस्तामा उत्साह थपेको छ। यस्तै नामहरूमध्ये एक हुन्—इलाम क्षेत्र-१ बाट सिफारिस भएका ३५ वर्षीय निस्कल राई।
व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन्। प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हालेका उनी पूर्व क्षेत्रीय सहसचिवसमेत भइसकेका छन्।
शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन्। स्कुल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक दायित्व सफलतापूर्वक निर्वाह गरेका उनी अध्ययन, अनुसन्धान, समाजसेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन्। यही निरन्तरताको परिणामस्वरूप ३५ वर्षको उमेरमै उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस भएका हुन्।
जेन-जी आन्दोलनपछि देश र पार्टीले खोजिरहेको—कुशल, योग्य, क्रियाशील, जुझारु र इमानदार युवा नेतृत्वको आवश्यकता—पूर्वी पहाडबाट पूरा गर्ने दौडमा निस्कल राई अघि बढिरहेका देखिन्छन्। जेन-जी आन्दोलनपछि पुरानो पुस्ताको नेतृत्व परिवर्तन र युवा नेतृत्वको माग चर्किँदै गएको सन्दर्भमा राई इलाम क्षेत्र १ का लागि उपयुक्त उम्मेदवार भएको चर्चा पार्टीभित्र मात्र होइन, अन्तरपार्टी वृत्त र समुदायस्तरमा समेत सुरु भएको छ।
स्थानीय बुद्धिजीवीहरू भन्छन्— यदि पार्टीले उनलाई अवसर प्रदान गर्यो भने पूर्वी पहाडबाटै कांग्रेसभित्र परिवर्तनको अभियान सुरु हुने सम्भावना बलियो छ।
अहिलेसम्म कोशी र मधेस प्रदेशमा निस्कल राईजस्तै स्पष्ट राजनीतिक प्रोफाइल, कुशल नेतृत्व क्षमता र इमानदार छविका युवाको नाम सिफारिस भएको पहिलो हो। यसले इलाममा मात्र होइन, उनको पक्षमा अन्य प्रदेशहरूबाट पनि समर्थनका स्वरहरू क्रमशः चर्किँदै गएका छन्।
अध्ययन र अनुसन्धानका क्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागी हुँदै यति कम उमेरमै निस्कल राईले दक्षिण कोरिया, हंगेरीलगायत देशहरूको भ्रमण तथा अवलोकनको अनुभव हासिल गरेका छन्। यसले उनलाई केवल स्थानीय राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय अभ्यास र अनुभव बुझ्ने युवा नेताका रूपमा पनि चिनाएको छ।

यससँगै उनले कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमका कार्यक्रम संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। सार्वजनिक सहभागिता, युवा परिचालन र सामाजिक सेवामा आधारित उक्त कार्यक्रमको कार्यान्वयनमा उनले देखाएको नेतृत्व क्षमताले उनको व्यवस्थापन र समन्वय कौशललाई थप स्थापित गरेको देखिन्छ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन्। नेपाल रेडक्रस सोसाइटी, जागृति ग्रामीण विकास मञ्च नेपाललगायत विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहँदै उनले विपद् व्यवस्थापन, सामाजिक सचेतना र सामुदायिक विकासका क्षेत्रमा योगदान दिँदै आएका छन्। यही शैक्षिक पृष्ठभूमि, अन्तर्राष्ट्रिय अनुभव, सामाजिक संलग्नता र निरन्तर राजनीतिक सक्रियताले निस्कल राईलाई जेन-जी आन्दोलनपछि पार्टी र देशले खोजिरहेको जिम्मेवार, सक्षम र भरोसायोग्य युवा नेतृत्वका रूपमा प्रस्तुत गरेको छ।
इलाम-१ बाट ९ जनाको नाम सिफारिस
यहाँबाट चुनाव लड्नका लागि राईसँगै ९ जनाको नाम सिफारिस भएको छ। पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधानसभा सदस्य टिकाराम सुब्बा, जिल्ला सभापति डम्बरबहादुर खड्का, पूर्व राज्यमन्त्री बेनुप राज प्रसाई, पूर्व प्रतिनिधि सभा उम्मेदवार भुपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि हरिप्रसाद लुइँटेल, पूर्व प्रतिनिधि सभा उम्मेदवार भेषराज आचार्य र क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकीको नाम सिफारिस भएको छ।
सिफारिस भएकामध्ये जिल्ला सभापति खड्का पटक-पटक सो क्षेत्रबाट पराजित भएका पात्र हुन् । खड्काले यसअघि इलाम क्षेत्र नं २ बाट प्रदेश सभा चुनावका साथै क्षेत्र नं २ मा नै २०७९ मा सुवास नेम्वाङ र २०८१ मा भएको उप–निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसँग पराजित भएका थिए ।
यता सिफारिसमा परेका अर्का नेता भेषराज आचार्य पनि सोही क्षेत्रबाट २०७४ स्वर्गीय सुवास नेम्वाङसँग प्रतिनिधि सभामा पराजय भोगेका थिए । त्यस्तै, पार्टीको १२औँ, १३औँ र १४औँ अधिवेशनमा जिल्ला सभापति पराजित भएका पात्र हुन् । यद्यपि उनलाई जिल्लामा उनलाई शालिन नेताका रुपमा चिनिन्छ ।
पूर्व राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति केशव थापा तत्कालिन इलाम क्षेत्र नं ३ बाट प्रतिनिधि सभा तथा संविधान सभामा जित हासिल गरेका व्यक्ति हुन् । यद्यपि पछिल्लो समय उनको राजनीतिक सक्रियता तथा प्रभाव जिल्लामा कम देखिने गरेको त्यहाँका नेताहरुले बताउने गरेका छन् ।
त्यस्तै, २०५६ को आम निर्वाचनमा क्षेत्र नं १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गराएका पूर्व राज्यमन्त्री बेनुप राज प्रसाई संविधान सभाको पहिलो निर्वाचनमा झलनाथ खनालसँग पराजित भएका थिए ।
टिकाराम सुब्बा समानुपातिक तर्फका पहिलो संविधान सभाको सदस्य हुन् भने भुपेन्द्र कट्टेल यहि क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा चुनावमा खनालसँग १७ हजार बढी मतान्तरले पराजित भएका उम्मेदवार हुन् । साथै सिफारिसमा परेका पूर्व शिक्षक हरि प्रसाद लुइँटेल पार्टीको महाधिवेशन प्रतिनिधि हुन् ।
युवा क्षेत्रिय प्रतिनिधि नगेन्द्र बुढाथोकी सुर्योदय नगरपालिकाका उपप्रमुखका हाल स्वकीय सचिव हुन् ।







