
काठमाडौं । नेकपा (एमाले)को ११ औँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । पार्टी अध्यक्षदेखि सचिवसम्म गरेर १९ पदाधिकारीका लागि ४२ जना प्रतिस्पर्धामा छन् । जसमा अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।
यस्तै ५ उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा छन् । ओली र पोखरेल प्यानलबाट गरेर ११ जनाको उम्मेदवारी पर्दा डा.बिन्दा पाण्डे एक्ली महिलाको उम्मेदवारी परेको छ । ओलीले ५ जना उपाध्यक्षका उम्मेदवार उठाएकामा एक जना पनि महिला उम्मेदवार बनाएन । तर, पोखरेल प्यानलबाट भने पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
पाण्डे बाहेक उपाध्यक्षमा गुरुप्रसाद बराल, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, भीमप्रसाद आचार्य, रघुजी पन्त, परशुराम मेघी गुरुङ, अरुण नेपाल र टंकप्रसाद काकी उपाध्यक्षका उम्मेदवार हुन् । जसमा बराल, बादल र पौडेल यस अघि पनि उपाध्यक्ष रहेकाले दोस्रो कार्यकाल उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा यस अघि उपमहासचिव, बिष्ट यसअघि सचिव हुन् भने पाण्डे, आचार्य, पन्त, यस अघि स्थायी समिति सदस्य हुन्। यस्तै नेपाल र परशुराम पोलिट ब्यूरो सदस्य र कार्की केन्द्रीय सदस्य मात्रै हुन् । ११ जना उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने उत्कृष्ट ५ जना उपाध्यक्षमा निर्वाचित हुनेछन् ।
आरक्षणको व्यवस्था नभएकाले एक्ली महिला उम्मेदवार पाण्डेले जित हासिल गर्नका लागि उत्कृष्ट ५ मा पर्नुपर्नेछ । ५ जना यस अघिकै पदाधिकारी उपाध्यक्षमा प्रतिस्पर्धा गरिरहेका पाण्डेलाई उत्कृष्ट ५ मा पुग्न धेरै कसरत गर्नुपर्नेछ ।
महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोखरेल प्रतिस्पर्धामा छन् । यस अघि उपाध्यक्ष भइसकेका पाण्डे एक उपाध्यक्षबाट एक पद घटुवा गरी पार्टीको कार्यकारी पद महासचिवमा पोखरेल प्यानलबाट र पोखरेल दोस्रो कार्यकाल महासचिवका लागि ओली प्यानबाट उम्मेदवार छन्।
उपमहासचिवमा ३ पदका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा विष्णुप्रसाद रिमाल, योगेश भट्टराई, रघुबिर महासेठ, लेखराज भट्ट, राजेन्द्रप्रसाद गौतम, आनन्दप्रसाद पोखरेल र वैजनाथ चौधरी प्रतिस्पर्धामा छन् । जसमा रिमाल दोहोरिएर उपमहासचिवको उम्मेदवार बनेका छन् भने भट्टराई, महासेठ र भट्ट सचिवबाट एक पद बढुवा भएर उपमहासचिवको उम्मेदवार बनेका हुन् । यस्तै गौतम यस अघि स्थायी समिति सदस्य, पोखरेल र चौधरी यस अघि पोलिट ब्यूरो सदस्य थिए ।
पदाधिकारीमा सबैभन्दा बढी सचिवमा उम्मेदवारी परेको छ । ९ सचिवका लागि २० जना प्रतिस्पर्धा गर्दै छन् । जसमा २ जना यस अघिकै सचिव छबिलाल विश्वकर्मा र पद्मा अर्याल दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सचिवको उम्मेदवारी दिनेमा यस अघि स्थायी समिति सदस्य रहेका लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, शेरधन राई, यामलाल कंडेल, अग्निप्रसाद खरेल, डा.राजन भट्टराई, कर्णबहादुर थापा, हिक्मतकुमार कार्की, पुरुषोत्तम पौडेल, गोकुलप्रसाद बास्कोटा, महेश बस्नेत रहेका छन् । यस्तै यस अघि पोलिट ब्यूरो सदस्य रहेका ठाकुरप्रसाद गैरे रहेका छन् भने यस अघिका केन्द्रीय सदस्य खगराज अधिकारी, इन्द्रलाल सापकोटा र पेम्बा लामाले सचिवमा उम्मेदवारी दिएका छन् ।
९ सचिवका लागि २० जनाको उम्मेदवारी पर्दा ३ जना महिलाको पनि उम्मेदवारी परेको छ । जसमा ओली प्यानलबाट पद्मा अर्यालले दोस्रो कार्यकाल सचिवका लागि उम्मेदवारी दर्ता गराएकी छन् भने यस अघि केन्द्रीय सदस्य रहेकी रचना खड्काले पोखरेल प्यानलबाट उम्मेदवारी दर्ता गराएकी अर्को महिला पेम्बा लामाले पनि सचिवमा उम्मेदवारी दर्ता गराएकी छन् । सचिवमा पनि महिला आरक्षणको व्यवस्था नभएकाले उत्कृष्ट ९ मा मत प्राप्त गर्ने उम्मेदवार सचिवमा निर्वाचित हुनेछन् । त्यसैले यी तिनै जना महिलालाई सचिवमा जित हासिल गर्न सकस नै हुनेछ ।







