
काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा पदाधिकारी तहमा दलित समुदायको प्रतिनिधित्व न्यून देखिएको छ । १९ पदाधिकारी पदमध्ये दलित समुदायबाट छविलाल विश्वकर्मा एक्ला उम्मेदवार बनेका छन् ।
यसअघि सचिव निर्वाचित भइसकेका विश्वकर्मा दोस्रो कार्यकालका लागि पनि सचिव पदमा उम्मेदवार बनेका हुन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवार बनेका छन् । तर, पदाधिकारी तहमा दलित, महिला तथा अन्य समुदायका लागि कुनै पनि आरक्षण व्यवस्था नरहेकाले यसपटक उनको पुनः निर्वाचन चुनौतीपूर्ण देखिएको छ ।
९ जना सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये उत्कृष्ट ९ जना मत प्राप्त गर्ने उम्मेदवार सचिवमा निर्वाचित हुने व्यवस्था छ । आरक्षणको अभावमा दलित समुदायबाट एक्ला उम्मेदवार रहेका विश्वकर्माले खुला प्रतिस्पर्धामै आफ्नो स्थान सुरक्षित गर्नुपर्ने अवस्था छ ।
केन्द्रीय सदस्य खुलामा ५ दलित, महिलातर्फ २ दलित उम्मेदवार
केन्द्रीय सदस्य खुलातर्फ १२६ पदका लागि १६८ जनाको उम्मेदवारी दर्ता हुँदा दलित समुदायबाट पाँच जनाको उम्मेदवारी परेको छ । ती उम्मेदवारमा जगतबहादुर विश्वकर्मा, जितु गौतम, यमबहादुर परियार, ईश्वरबहादुर रिजाल र भागवत विश्वासी नेपाली रहेका छन् । उनीहरूमध्ये विश्वकर्मा, गौतम र रिजाल यसअघि पोलिटब्यूरो सदस्य थिए ।
केन्द्रीय सदस्य खुला महिलातर्फ ५२ पदका लागि ७२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दलित समुदायबाट बिमला विक र सिताकुमारी सुन्दास गरी दुई जना महिला उम्मेदवार रहेका छन् ।
आरक्षित दलिततर्फ १२ पदका लागि २८ उम्मेदवार

आरक्षणअन्तर्गत दलिततर्फ १२ जना केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसमा दलित खुलातर्फ ७ पद, दलित महिलातर्फ ४ पद र ४० वर्षमुनिको दलित युवातर्फ १ पदका लागि निर्वाचन हुनेछ ।
दलित खुलातर्फ अफिलाल ओखेडा, खेमराज नेपाली, गोविन्दबहादुर नेपाली, चक्रबहादुर स्नेही, जंगबहादुर नेपाली, ज्यानु कालिकोटे, तुलसीप्रसाद पासी, दानसिंह परियार, प्रदीप रम्तेल, प्रभु हजरा, बुद्धिमान परियार, बोमबहादुर विश्वकर्मा, मनोहर विश्वकर्मा (पौडेल), मेघराज हजरा, मोती विक (महेन्द्र) र हिक्मतबहादुर विक उम्मेदवार रहेका छन् । तीमध्ये अफिलाल ओखेडा, गोविन्दबहादुर नेपाली, जंगबहादुर नेपाली, प्रभु हजरा र बोमबहादुर विश्वकर्मा हाल पनि केन्द्रीय सदस्य छन् । मोती विक एमाले निकट अनेरास्ववियुका पूर्व उपाध्यक्ष हुन् ।
दलित महिलातर्फ आशाकुमारी विक, दशरथ राम, नन्दा बस्याल, पार्वती विशुन्के, मीनाकुमारी परियार, रुक्मणी राना (बराइली), विष्णुमाया विक र सरिता जिरेल (खाती) उम्मेदवार रहेका छन् । ४० वर्षमुनिको दलित युवातर्फ देवकृष्ण विक, निता घतानी, सरोज विक र हिरालाल विश्वकर्माको उम्मेदवारी परेको छ । आशाकुमारी विक, विष्णुमाया विक र रुक्मणी राना ९बराइली० हाल पनि केन्द्रीय सदस्य छन् ।
एमालेको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियाले दलित समुदायको सहभागिता र प्रतिनिधित्वको अवस्था स्पष्ट पारेको छ । पदाधिकारी तहमा आरक्षणको व्यवस्था नहुनु र खुला प्रतिस्पर्धामै सीमित सहभागिताले पार्टीभित्र समावेशीताको बहस फेरि सतहमा आएको छ ।







