
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जमानतमा छाड्न गरेको आदेश बदर गरिदिएको छ। २०८२ साल साउन २६ गते धरौटी आदेशमा छाड्न अस्विकार गरेको थियो। अदालतले बैंक जमानत बापत पेश गरेको रकम सुरक्षित गर्न, धरौटी रकम स्वीकार गर्न आदेश दिएको हो।
‘रवि लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो । बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा लामिछानेले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडी बढाउनू’ उच्च अदालतले आदेशमा भनेको छ ।
उच्च अदालतले सुप्रिम सहकारीबाट लामिछाने कार्यरत गोर्खा मिडियामा प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो रकम बैंक ग्यारेन्टी राख्न खोजेको भन्दै त्यसलाई स्वीकारेको छ। अदालतले लामिछाने व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपर्नेमा अदालतलाई पूर्वजानकारी दिन भनेको छ।
बिगो रकम तिर्न मञ्जुर भए कागज गराएर थुनामुक्त भनिएको छ। उच्च अदालतले छविलाल जोशीको हकमा समेत सक्कल प्रमाण सहित निवेदन दिएमा उनलाई थुनामा राख्ने विषयमा समेत पुनर्विचार गर्न आदेश दिएको छ।
जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा मागेको एक करोड रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने छुटेका थिए । पछि उच्च अदालतको बुटबल इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाउने आदेश गरेको थियो। त्यसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।
तीन वर्षभन्दा बढी कसुर हुनसक्ने आधार र कारण देखाएर लामिछानेलाई थुनामा पठाउने आदेश भएको थियो । सर्वोच्च अदालतको आदेशपछि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्त हुन पाउँ भन्दै पुनः जिल्ला अदालतमा थुनामुक्त हुन माग गर्दै निवेदन दिए।
उक्त कानुन अनुसार ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेपनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख वा दफा ६८ बमोजिम धरौट, जमानत वा बैङ्क जमानत माग्न सक्नेछ,’ भन्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर विहीबार उच्च अदालत तुलसीपुरले लोमछानेको विगो स्विकार गर्दै थुनामुक्त हुन भनेको छ।







