काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्।

अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलीबेटी बेचबिखन,अपराध महाशाखा लगायतसबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताएका हुन् ।

‘वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिने जुनसुकैलाई कानुनी कठघरामा ल्याउछौं,’ उनले भने, ‘सुशासनको सुरुवात गर्ने एउटा आधार यो हो।’उनले सिआइबी टोली मन्त्रालयमा बोलाएर संयन्त्र खडा गर्ने प्रक्रियाअघि बढेको बताएका छन् ।

मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशमै परिश्रम गर्ने वातावरण मिलाउन अहिलेको सरकार लागेको उल्लेख गर्दै मन्त्री भण्डारीले आप्रवासन जनशक्तिको सम्मान र सदुपयोग गर्न जरुरी रहेको बताएका छन् । छोटो समयका लागि विशेष परिस्थितिमा मन्त्री बन्न आएको भएता पनि वैदेशिक रोजगार व्यवस्थित बनाउन आफूले दिनरात नभनी जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

यस अवसरमा नेपाल लेवर माइग्रेसन रिपोर्ट २०२४ सार्वजनिक गरिएको थियो। श्रम मन्त्रालय र इन्टरनेशनल लेवर अर्गनाइजेशन (आएएलओ) को संयुक्त सहकार्यमा तयार पारिएको उक्त प्रतिवेदन हरेक दुई वर्षमा प्रकाशन हुने गर्छ।

आइएलओका देशीय निर्देशक नुमान ओज्कानले जुन सुकै देशका आप्रवासीको हकहित र सुरक्षाका लागि सबैको सहकार्य आवश्यक रहने बताएका हुन् । नेपाल सरकारसँग आप्रवासनको नीतिगत सुधार, श्रमिक अधिकार र व्यवस्थापनमा आइएलओ सँगको हातेमालो सधैँ सकारात्मक रहँदै आएको मन्त्री भण्डारीले जानकारी दिएका छन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले आप्रवासन संस्कृतिलाई रोक्न नसकिने हुँदा यसको सही व्यवस्थापनमा रणनीति बनाएर जानु नै उपयुक्त हुने धारणा ब्यक्त गरेका छन्। मन्त्रालयले सप्ताहव्यापी रूपमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको हो ।

तपाईको प्रतिक्रिया