काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीद्वय सँग छलफल गर्ने भएका छन् । यसका लागि उनले पार्टीका शीर्ष पदाधिकारीलाई निवासमा बोलाएका छन्। सभापति देउवाले आज शनिबार बिहान ९ बजे दुई उपसभापति र दुई महामन्त्रीसँग छलफल गर्न लागेका छन् ।

नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बैठकमा सहभागी रहनेछ । मुख्य गरी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनको विषयमा छलफल गर्न बैठक डाकिएको बुझिएको छ ।

कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यद्यपि, पुस १६ गते वडा अधिवेशन गरेर २६ गते नै केन्द्रीय महाधिवेशन गर्ने तालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयनमा आशंका व्यक्त गर्दै आएका छन् ।

निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि विधान मस्यौदा समिति हालसम्म बन्न सकेको छैन । शनिबारको बैठकले यो साङ्गठनिक जटिलताहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया