काठमाडौँपछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भूभागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्थ्योघाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो ।

यस्तो विकृतिका विरुद्ध सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रममार्फत आयोडिनयुक्त नुनको वितरण अभियान देशव्यापी सञ्चालन गरेपछि पछिल्ला दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनअनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शत प्रतिशत पुग्दा आयोडिनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो ।

सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पुर्‍याउने नीति र यसलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा ‘कण्ठरोग निवारण कार्यक्रम’ छ । राष्ट्रिय योजना आयोगद्वारा गरिएको उक्त कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो ।

हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरण प्रणाली र स्वास्थ्य मन्त्रालयले गलगाँडका रोग पहिचान तथा उपचारमा ध्यान दिने गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पछिल्ला दशकमा विशेषगरी पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा पनि गिरावट आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारण कार्यक्रमले शत प्रतिशत सफलता प्राप्त गरेको छ । अर्थात् दुर्गम हिमाली तथा पहाडी भूगोल भएका २२ जिल्लामा आयोडिनयुक्त नुनको सुलभ र सहज आपूर्ति तथा आम जनताको सहज पहुँच पुर्‍याइएकाले कार्यक्रम सफल भएको हो । ती जिल्लामा विशेष गरी गलगाँडको जोखिम रहने र समस्या हुन सक्ने सम्भावनाको आँकलनसमेत गरिएको छ ।

गत आवमा मात्र मन्त्रालयले कर्पोरेसनमार्फत एक लाख दुई हजार ५०० क्विन्टल नुनको सहज आपूर्ति गरेको थियो । मन्त्रालयका सहसचिव शिवराम पोखरेलका अनुसार आयोडिनयुक्त नुनको आपूर्ति र वितरण प्रणालीमा साल्ट ट्रेडिङ कर्पोरेसनको भूमिका ऐतिहासिक छ । उनी भन्छन्, ‘कर्पोरेसनको चुस्त वितरण, व्यवस्थापन तथा सहज आपूर्ति प्रणालीका कारण आम जनताको सहज पहुँचमा आयोडिनयुक्त नुन पुर्‍याउन सरकार सफल भएको हो । सरकारले मागका आधारमा दुर्गम क्षेत्रमा नुनको आपूर्ति पनि बढाउँदै लगेको छ ।’ आव २०७०/०७१ मा दुर्गमका २२ जिल्लामा ५९ हजार ५७३ क्विन्टल नुन पुर्‍याइएको थियो ।

भान्साभान्सामा आयोडिनयुक्त नुन

कालिकोट तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार आयो नुनको पहुँच नगरवासीको भान्साभान्सासम्म पुगेको छ । उनी भन्छन्, ‘अब सहुलियत दरको नुन वितरणको जिम्मा पालिकालाई नै दिनुपर्छ । आगामी दिनमा आयोडिनयुक्त नुनको चुस्त वितरण र व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुर्गम जिल्लामा नुनको बिक्री डिपो थप गर्नुपर्छ । यसका लागि समन्वय गर्न पालिका तयार छन् ।’

तिलागुफा१ का वडाध्यक्ष मनबहादुर बुढाका अनुसार गाउँमाढिके नुन खानु हुँदैन, यसमा आयोडिन हुँदैनभन्ने सचेतना बढेको छ र ढिके नुन बस्तुभाउलाई खुवाउन छाडिएको छ । उनी भन्छन्, ‘आयोडिनयुक्त नुनबारे सचेतनापुगेकोतर अझ सर्वसुलभ पहुँच पुग्न कठिन छ । सहुलियत दरका नुन वितरण प्रणालीलाई चुस्त बनाउनुपर्छयसका लागि संघीय सरकारले नुनको बिक्री डिपो थप गर्नुपर्छ ।’

सोही नगरपालिकास्थित सत्यदेवी माविका प्रधानाध्यापक सनम शाहीका अनुसार विद्यालयले समयसमयमा आयोडिन नुनको महत्वबारे विद्यार्थीलाई सचेतनाका कक्षा लिँदै आएको छ । उनी भन्छन्, ‘दुई बालबालिका चिन्ह भएको आयो नुन, भानु नुनको महत्वबारे जानकारी दिएपछि भान्सामा ढिके नुनको प्रयोग हुन छाड्यो । गाउँमा अहिले गलगाँड भएका मानिस देखिँदैनन् ।’

कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीका अनुसार पालिकाभित्र ढिके नुन प्रयोग गर्ने घर लगभग शून्यमा छन् । उनी भन्छन्, ‘सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पुर्‍याउने नीति र साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त वितरण व्यवस्थापनका कारण भान्साभान्सामा आयोडिनयुक्त नुन पुगेको छ । तर सहुलियत दरका नुनको कोटा बढाउनुपर्छ ।’

सान्नी त्रिवेणी९ स्थित मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार आयोडिनयुक्त नुनको कमीले देखापर्ने गलगाँडका बिरामी गाउँमा छैनन् । उनका अनुसार शरीरमा आयोडिनको कमीले गर्भवतीमा गर्भ तुहिने, मृत शिशु जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने र शारीरिक रूपमा विकलाङ्ग हुने जोखिम हुन्छ ।

जुम्ला चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काका अनुसार पछिल्ला समयमा ढिके नुन प्रयोग गर्ने प्रचलन लगभग अन्त्य भएको छ । उनी भन्छिन्, ‘आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने सचेतना बढेको छ । तर कति मात्रामा प्रयोग गर्ने भन्नेबारे समुदायलाई थप जानकारी दिन आवश्यक छ । ग्रामीण क्षेत्रका भान्सासम्म आयो नुन पुर्‍याउन साल्ट ट्रेडिङ कर्पोरेसनको भूमिका प्रशंसनीय छ ।’

थोरै खाऔँ, मात्रा मिलाएर खाऔँ

पछिल्लो समयमा देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुँदै आएको छ । यही मागअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनको सुलभ र सहज आपूर्ति गर्दै आएको छ । कर्पोरेसनका प्रबन्धक ब्रजेश झाका अनुसार गत आवमा कर्पोरेसनले दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको थियो । साथै, नुन आपूर्तिमा अवरोध नआओस् भनी कर्पोरेसनले छ महिनासम्म पुग्ने नुन गोदाममा मौज्दात राख्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव पोखरेलका अनुसार आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरणलाई साल्ट ट्रेडिङ कर्पोरेसनले चुस्त बनाएकै कारण गलगाँड निवारणमा ऐतिहासिक सफलता हासिल भएको हो । उनी भन्छन्, ‘कर्पोरेसनलाई नुनको एकाधिकार दिँदा मूल्यमा समेत सरकारले नियन्त्रण गर्न सकेको छ । सरकारकै नियन्त्रणमा भएकाले नुनको मूल्यवृद्धि हुन नपाएको हो ।’

आयोडिन शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने सूक्ष्म पोषक तत्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित दुई बालबालिका अङ्कित चिन्ह भएको नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । नुनले थाइराइड ग्रन्थिबाट थाइराइड हर्मोन उत्पादनमा मद्दत गर्छ । यसले शरीरका कोशिकाको कार्य सुचारु राख्न, दिमागको वृद्धि तथा विकास गर्न सहयोग पुर्‍याउँछ । शारीरिक र मानसिक विकासका लागि आवश्यक हर्मोन उत्पादनमा पनि आयोडिन अपरिहार्य हुन्छ ।

तपाईको प्रतिक्रिया