काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।

नेकपाले आन्तरिक पार्टी निर्देशन जारी गर्दै जेन–जीलाई समेट्ने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा पाँच जना उम्मेदवार सिफारिस गर्न परिपत्र पठाएको छ।

संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको परिपत्रमा हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेन–जी युवा र एक महिलासहित बढीमा पाँच जना उम्मेदवार सिफारिस गर्नुपर्ने उल्लेख छ। सिफारिस गरिएका उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए वा नभएको खुलाउनुपर्ने तथा लोकप्रिय र जित्ने सम्भावना भएका उम्मेदवारलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ।

राष्ट्रिय सभाका लागि प्रदेशहरूले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा पाँच–पाँच जना उम्मेदवार सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, माघ ११ मा हुने समानुपातिक निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा दुई महिलासहित चार जना उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको छ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप दुई जना सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ। सम्पर्क समन्वय प्रदेशले दुई महिला र दुई पुरुष गरी चार जना सिफारिस गर्नुपर्नेछ। उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश तथा जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले पनि दुई महिला र दुई पुरुष गरी चार–चार जना उम्मेदवार सिफारिस गर्नुपर्ने निर्देशन दिइएको छ।

उम्मेदवार सिफारिस गर्दा संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायका क्लस्टरलाई ध्यान दिनुपर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया