काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् ।
फागुन २१ का लागि तोकिएको निर्वाचन आउन ७३ दिन मात्रै बाँकी रहेको अवस्थामा सरकारले निर्वाचनसँग सम्बन्धित अध्यादेश ल्याउने काम नगर्न पाण्डेले आग्रह गरेका हुन् ।

‘अहिले ल्याइने अध्यादेश, ऐनले निर्वाचनको तयारी पुग्दैन । तयारी नपुग्ने काम नगर्नुस्,’ पाण्डेले भने, ‘विदेशमा बस्ने नेपालीलाई चुनावमा भाग लिन पाउने अध्यादेश ल्याउँदै हुनुहुन्छ । यस्ता कुरा नगरौं । युवापुस्तालाई झुक्याउने काम कारबाही नगरौं ।’ सरकारले सार्वजनिक रूपमा लोकप्रियता प्राप्त गर्नका लागि केही कदम चालिरहेको तर त्यसले निर्वाचनको काम भने नहुने देखिएको पाण्डेको भनाइ थियो ।

‘चारैतिरबाट हाइ-हाइ हुने काम गर्नुभयो भने हाइ-हाइ मात्रै हुन्छ, काम हुँदैन,’ उनले भने । युवा पुस्तालाई राजनीतिमा ल्याउनुपर्ने र राष्ट्र निर्माणमा भूमिका खेल्न लगाउनुपर्ने पनि उनको भनाइ थियो । सरकारले कुनै दलले भाग नलिए पनि चुनाव हुन्छ भन्ने धारणा राख्न नहुने पाण्डेले बताए । ‘कुनै दलले चुनावमा भाग नलिए नलेओस् भने चुनाव हुँदैन,’ उनले भने, ‘चुनावका कुरा गर्ने अनि मुल नेताहरूलाई काठमाडौंमा घरमै बस् भन्ने ? स्थानहद लगाउने ? स्थानहद गर्ने कुराहरूमा जानु हुँदैन । सरकारको ध्यान निर्वाचनमा केन्द्रित गरौं । तपाईं हामी निर्वाचन केन्द्रित भएनौं भने निर्वाचन हुँदैन ।’

मन्त्रीहरूका अभिव्यक्ति नियन्त्रित हुनुपर्ने पनि पाण्डेको भनाइ थियो । मन्त्रीहरूका अभिव्यक्तिले निर्वाचनको वातावरण बिथोल्ने उनले बताए । ‘तपाईंहरूका बोलीले निर्वाचनको वातावरण बिथोलिएको छ । मुख बन्द गर्नुस्, धेरै नबोल्नुस् । तपाईंहरूलाई राष्ट्रले ऐतिहासिक जिम्मेवारी दिएको छ, निर्वाचन गर्नुस् । स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्नुस् । होइन भने मन्त्री भएर नबस्नुस्,’ पाण्डेले भने ।

जेन-जी प्रदर्शनका क्रममा लुटिएका हतियार कति फिर्ता भए र जेलबाट भागेका कैदी फिर्ता ल्याउनेबारे गृहमन्त्रालयले कति काम गरेको भन्ने कुरा बैठकमा राख्नुपर्ने पनि पाण्डेको माग थियो ।

तपाईको प्रतिक्रिया