
काठमाडौँ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्थापनाको ४३औँ वर्ष प्रवेश गरेको छ । संघले मंगलबार आफ्नो ४३ औँ वार्षिक साधारण सभाबाट वार्षिक गतिविधिहरूको समीक्षा गर्दै भावी कार्ययोजना समेत तय गरेको छ ।
स्व.भगत सर्वजित विश्वकर्माले बाग्लुङ्गबाट वि.सं. १९९७ सालमा सुरु गरेको ऐतिहासिक दलित आन्दोलनलाई संस्थागत गर्दै स्वर्गीय प्रतापराम लोहारले २०३९ सालमा संघको स्थापना गरेका थिए ।
हाल संघअन्तर्गत ७७ वटै जिल्लामा शाखा समिति विस्तार भएका छन् भने संघले देशभर दलित समुदायका हक अधिकार र उत्थानका लागि एकसाथ काम गर्दै आएको छ । तर अझैपनि दलित समुदायको अवस्थामा गुणात्मक परिवर्तन हुन नसकेको भन्दै वक्ताहरूले सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।
पूर्वअर्थमन्त्री प्रकाशसरण महतको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संघका राष्ट्रिय अध्यक्ष त्रिलोकचन्द विश्वास विकेले सरकार र राजनीतिक दलहरूको बेवास्ताका कारण दलित समुदायको अधिकारको आन्दोलन टुंगो पुग्न नसकेको बताए ।

‘नेपालका सबै राजनीतिक परिवर्तनमा दलित समुदायको योगदान छ । तर सरकार र राजनीतिक दलहरूले दलित समुदायलाई जातीय भेदभाव र छुवाछुतजस्तो सामाजिक अपराधबाट मुक्त गर्न ठोस् पहल गरेनन्,’ उनले भने, ‘जसले गर्दा संविधान र कानुनमा भेदभावमुक्त समाज निर्माणको कुरा समेटियो, व्यवहारमा त्यसको कार्यान्वयन भएन ।’
समाजमा अहिले पनि रुकुम नरसंहारजस्ता घटनाहरू घटिरहेको यथार्थले जात व्यवस्थाबाट नेपाली समाज कुन हदसम्म प्रताडित छ भन्ने कुरा स्पष्ट हुने उनको भनाइ थियो ।
उनले दलित समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार र दलहरूले चासो दिनुपर्ने बताएका थिए ।
सभामा बोल्दै पूर्वअर्थमन्त्री महतले सरकार र राजनीतिक दलहरूले दलित समुदायमाथि भएको विभेदको अन्त्यका लागि अब निर्णायक पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘अझैपनि भेदभावको व्यवहार नहट्नु दुखद हो । यसकालागि केही नभएको पनि होइन, कांग्रेसले नै धेरै कामहरु गरेको छ । अहिले संविधानले पनि समतामुलक समाज निर्माणको लक्ष्य लिएको छ,’ उनले भने, ‘यसको व्यवहारिक कार्यान्वयनमा सरकार र दलहरूले नै जोड दिनुपर्छ ।’
कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले पनि दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकारले अनिच्छा देखाइरहेको गुनासो गरे ।
साधारण सभाले संस्थाको वार्षिक गतिविधि समेटिएको महासचिव गोवद्र्धन कोलीको प्रतिवेदन पारित गरेको छ भने आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।
संस्थाले गएको एक वर्षको अवधिमा गरेका कामहरूको समीक्षासँगै भावी कार्ययोजना तय गर्दै साधारणसभा सम्पन्न भएको महासचिव कोलीले जानकारी दिए ।

उनका अनुसार संस्थाले हाल कालिकोट, जाजरकोट, सर्लाही, महोत्तरी, सिराहा र सप्तरी गरी ६ वटा जिल्लाहरुमा नेपाल छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रमअन्तर्गत ५९९ जना बालबालिकाले नियमित छात्रवृत्ति पाइरहेका छन् । छात्रवृति प्राप्त गरेका दलित समुदायका विद्यार्थीहरुको विद्यालय उपस्थिति दरमा उल्लेख्य सुधार भएको संस्थाको दाबी छ ।
त्यस्तै, इटेला टापिओला हाईस्कुल फिनल्याण्डको सहयोगमा सप्तरीे जिल्लामा दलित विद्यार्थीका लागि अध्ययन सहयोग कार्यक्रम कार्यान्वयनमा छ । सो कार्यक्रमबाट सप्तरीका ४० जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ ।

त्यस्तै, प्रताप राम लोहार स्मृति छात्रवृत्ति कार्यक्रमअन्तर्गत आठ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । संस्थाले अब ७७ वटै जिल्लामा दलित विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने अभियान चलाउने अध्यक्ष विकेले बताए । उनका अनुसार हाल चितवन जिल्लामा एक लाख ८० हजार रुपैयाँको कोष स्थापना भएको छ ।







