
काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध परेको पुनरावेदन मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुद्दामा सुनुवाई अघि बढाउने प्रयोजनका लागि मिशिल झिकाउने आदेश दिएको हो। भदौ २४ गते भएको आगजनीका कारण नष्ट भएको मिसिल प्राप्तिका लागि आदेश भएको हो।
अब मिसिल प्राप्त भएपछि प्रमाणीकरणका लागि पेसी तोकेर प्रारम्भिक रुपमा सुनुवाइ हुनेछ। विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो असुल गर्ने र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएपछि उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। विशेष अदालतले घरजग्गा, सेयर, नगद तथा बैंक मौज्दात जफत गर्ने निर्णय समेत गरेको छ।
विशेषको फैसलामा सम्पत्तिको मूल्याङकन चित्तबुझ्दो नभएको बताउँदै अख्तियारले पनि पुनरावेदन दिएको छ । सर्वोच्चले बादीप्रतिबादी दुबैको पुनरावेदनलाई एकैसाथ राखेर सुनुवाइ अघि बढाएको छ।







