
काठमाडौ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको ११० सिटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३८७ जना आकांक्षी देखिएका छन् । रास्वपाले समानुपातिकतर्फ ११० जना बन्दसूचीमा पेश गर्न छनौट प्रक्रियाका लागि आवेदन माग गरेकोमा ३८७ जना आकांक्षीले उम्मेदवारी दिएका हुन् ।
विभिन्न १० वटा कलस्टरबाट हरेक राजनीतिक दलले बढीमा ११० सिटका लागि बन्दसूची पेश गर्नुपर्ने व्यवस्था अनुसार रास्वपाले ११० सिटकै लागि बन्दसूची पेश गर्नका लागि सातै प्रदेशबाट ६ वटै कलस्टरबाट आवेदन आव्हान गरेकोमा पार्टीको लिडरसिप एकेमेडमीले बिहीबार र शुक्रबार आफ्नो भिजन, व्यू प्रिन्ट र शून्य समय प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । जसमा पहिलो दिन बिहीबार २०१ जनाले आफ्नो भिजन, व्यू प्रिन्ट र शून्य समयमा प्रस्तुती दिएका छन् भने शुक्रबार १८६ जनाले प्रस्तुती दिदैँ छन् ।
सबैभन्दा बढी खस आर्यबाट १६६ र दोस्रोमा आदिवासी जनजातिबाट १६६ जना आकांक्षी
समानुपातिकको प्ररम्भिक छनौटका क्रममा सातै प्रदेशबाट खस आर्यमा १६६ जनाको उम्मेदवारी परेको छ । जसमा पार्टीका सह महामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, पार्टीका केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, प्रतिभा रावल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य अरनिकोकुमार पाडे, सभापति रवि लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपाने, विवेकशिल साझा पार्टी तत्कालिन अध्यक्ष समिक्षा बास्कोटा, टिका संग्रौला, रञ्जु दर्शना लगायत रहेका छन् ।
यस्तै आदिवासी जनजातिबाट १०० जना प्रारम्भिक उम्मेदवार रहेका छन् । जसमा इलाममा भएको उपनिर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका मिलन लिम्बु, केन्द्रीय सदस्य खुस्बु सरकार श्रेष्ठ, कुशुम महर्जन, प्रमिला कुलुजु, सह कोषाध्यक्ष बसुमाया तामांग, मेघबहादुर आले, गायिका सत्यकला राई लगायत छन् ।
दलित ४२ जना प्रतिस्पर्धामा छन् । जसमा विवेकशिल साझा पार्टीका तत्कालिन उपाध्यक्ष प्रकाशचन्द्र परियार, रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, केन्द्रीय सदस्य सविना विश्वकर्मा, जेनजी युवा स्मृती सेन्चुरी, चिकित्सक डा.रुपक घिमिरे लगायत प्रतिस्पर्धी छन् ।
यस्तै मधेशीबाट ५१ जना, मुस्लिमबाट १७ जना, थारुबाट ११ जना प्रारम्भिक चरणको प्रतिस्पर्धामा छन् । छनौटको अन्तिम चरणका लागि शनिबार र आइतबार गरेर २ दिन अनलाईन प्रणालीबाट निर्वाचत हुनेछन् । ६ वटै समूहबाट उम्मेदवार रहेका ३६८ जना उम्मेदवारमध्ये हरेक कलस्टरबाट ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला गरेर उत्कृष्ट ११० जना उम्मेदवार बन्दसूचीमा पेश हुनेछन् । रास्वपाका सबै साधारण सदस्यले अनलाइन प्रणालीबाट मतदान गर्न पाउनेछन् ।







