
काठमाडौँ। उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिले नै रास्वपासँग एकीकरणको प्रस्ताव अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)बीच मात्रै सहमति भएको छ।
रास्वपासँग सहमति हुनुअघि बालेनले कुलमानसँग संवाद गरेका थिए। कुलमानले उज्यालो नेपालको केन्द्रीय समितिमा बालेनको प्रस्तावलाई पुर्याएका थिए। तर उज्यालो नेपालले केन्द्रीय समितिबाटै रास्वपामा एकीकरणको प्रस्ताव अस्वीकार गरेपछि कुलमान रास्वपा-बालेन एकीकरणमा छुटेका छन्। लामिछाने र बालेनबीच आइतबार बिहान राति ७ बुँदे सहमति भएको छ।
सहमतिअनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् भने पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन्। यो सहमति भने रास्वपाका नेता तथा पूर्वसांसद असिम शाह र आसिफ शाहको कार्यालय कमलपोखरीमा भएको हो । छलफलमा सहभागी रास्वपा र बालेनको तर्फका नेताहरूले शनिबार साँझदेखि आइतबार बिहान सवा ४ बजेसम्म निरन्तर छलफल गरी सहमतिको टुंगो लागेको हो । त्यसका लागि ठाउँ भने शाहको कार्यालय रोजिएको छलफलमा सहभागी दुवै तर्फका नेताहरूले जानकारी दिएका छन् ।
कमलपोखरीमा पूर्वसांसद असिम र उनका दाइ आसिफको चलचित्र निर्माण, गीतका भिडियो लगायतका कार्य गर्नका लागि लिइएको कार्यालय छ । रवि र बालेनले सोही कार्यालयलाई वार्तास्थल बनाएका थिए । शनिबार बिहानैदेखि बालेन मन्त्री कुलमान घिसिङसँग संवादमा थिए । बालेनसँग भेटेपछि घिसिङले उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए ।
त्यहाँ रवि र बालेनको तर्फबाट आएको आगामी राजनीतिमा कसरी जाने भन्ने प्रस्तावबारे छलफल भएको थियो । उज्यालो नेपालको केन्द्रीय समितिले रवि लामिछाने पार्टी सभापति र बालेन आगामी प्रधानमन्त्री हुने प्रस्ताव अस्वीकार गरेको थियो । केन्द्रीय समिति बैठकपछि पनि बालेनले घिसिङलाई बालुवाटारस्थित एक घरमा भेट गरेका थिए ।

त्यहाँ सहमति हुन नसकेपछि बालेन असिम शाहको कार्यालय पुगेका थिए । त्यहाँ लामिछानेसहितका नेताहरू सहभागी थिए । रवि र बालेनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर हुँदा रास्वपाका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले उपस्थित थिए । त्यसका अलवा नेता असिम शाह पनि संलग्न थिए ।
बालेनका तर्फबाट भने कुमार बेन, भुपदेव शाह, सुदीप ढकाल, केपी खनाल, निश्चल बस्नेतलगायतको उपस्थिति थियो । रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवास रास्वपा सभापति लामिछाने र बालेनबीच गत सोमबार साँझ ७ बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म वार्ता चलेको थियो । त्यो दिन रवि र बालेन चढेको गाडीलाई रास्वपा उपसभापति डीपी अर्यालले चलाएका थिए ।
यसबीचमा रवि र बालेनबीच ललितपुरको ज्वालगस्थि बालेनका सहयोगी कुमार बेनको घरमा पनि छलफल भएको थियो । उक्त छलफल पछि वार्तका लागि नयाँ ठाउँ हुनुपर्ने विषय उठेको थियो । त्यसपछि बालेनसँग काम गरेका र रास्वपाबाट नेतासमेत रहेका असिम शाहको कार्यालयलाई वार्तास्थल बनाइएको हो ।








