Ukraine’s President Volodymyr Zelenskyy speaks during a media conference at the EU Summit in Brussels, Thursday, Dec. 18, 2025. (AP Photo/Geert Vanden Wijngaert)

काठमाडाै । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत गर्नुहुने भएको छ । दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेट्नुहुनेछ, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले यस भेटमा सुरक्षा तथा आर्थिक सम्झौताका विषयमा छलफल हुने र ‘क्षेत्रीय मुद्दा’ उठाइने जानकारी दिनुभएको छ । पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ । भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भन्नुभएको छ । उहाँले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाउनुभयो । युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उहाँको भनाइ छ ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई बलियो समर्थन नै शान्तिको कडी भएको बताउनुभयो । प्रधानमन्त्री कार्नीले युक्रेनको पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड क्यानेडियन डलर थप सहयोगको घोषणा गर्नुभएको छ । उहाँले किएभमाथिको रुसी आक्रमणको निन्दा गर्दै राष्ट्रपति ट्रम्प र जेलेन्स्कीलाई ‘न्यायपूर्ण र स्थायी शान्ति’ का लागि महत्त्वपूर्ण क्षण सिर्जना गरेको श्रेय दिनुभयो ।

हालैका हप्ताहरूमा अमेरिकी वार्ताकारहरूले अघि सारेको शान्ति प्रयासमा उल्लेख्य प्रगति भएको दुवै पक्षले जनाएका छन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा लगभग ९० प्रतिशत तयार भइसकेको छ । यस क्रममा अमेरिकाले नाटोका अन्य सदस्यलाई जस्तै युक्रेनलाई पनि केही सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ । युक्रेनले यस्ता ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न तयार रहेको सङ्केत राष्ट्रपति जेलेन्स्कीले दिनुभएको छ ।

क्रिसमसको दिन राष्ट्रपति जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि छलफल गर्नुभएको थियो । उहाँले संवेदनशील विषयमा अझै काम बाँकी रहेको र आगामी हप्ता निर्णायक हुनसक्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको ठूलो समय युक्रेन युद्ध अन्त्यका प्रयासमा खर्च गर्दै आउनुभएको छ । सन् २०२४ को चुनाव अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्ने दाबी गर्नुभएका उहाँले पछिल्लो समय यो प्रक्रिया जटिल रहेको स्वीकार गर्नुभएको छ । अक्टोबरमा ह्वाइट हाउसमा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गर्दा उहाँले दुवै पक्षलाई लडाइँ रोक्न आग्रह गर्दै हालको युद्धरेखामा रोक्नुपर्ने सङ्केत दिनुभएको थियो ।

आइतबारको भेटअघि राष्ट्रपति जेलेन्स्कीले अझै नसुल्झेका मुख्य विषयमा क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा केन्द्र र युद्धपछिको पुनर्निर्माण कोष रहेको बताउनुभएको छ । सुरक्षा ग्यारेन्टी र अनुगमन संयन्त्रसम्बन्धी प्राविधिक विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन् ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनले आफ्नो धारणा अमेरिकासमक्ष स्पष्ट गरिसकेको छ, जसलाई ट्रम्प प्रशासनले रुससमक्ष पुर्‍याउनेछ । उहाँले पछिल्लो साता, यदि रुस पनि पछि हटे र पूर्वी क्षेत्र अन्तर्राष्ट्रिय निगरानीमा असैन्यीकृत क्षेत्र बनाइयो भने युक्रेन सेना फिर्ता लिन तयार हुनसक्ने बताउनुभएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका–रुसबीच सम्पर्क जारी रहेको र वार्ता अघि बढाउने सहमति भएको पुष्टि गर्नुभएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेका चार क्षेत्र र क्रिमियालाई रूसी भूभागका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आउनुभएको छ । युक्रेनले ती सबै माग अस्वीकार गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्प रुसी मागप्रति केही हदसम्म ग्रहणशील देखिनुभएको छ । यदि युक्रेनले डोनबास क्षेत्रमा केही सम्झौता गर्‍यो र पश्चिमी शक्तिले रुसलाई आर्थिक प्रोत्साहन दिए, पुटिनलाई युद्ध अन्त्यतर्फ राजी गराउन सकिने सम्भावना ट्रम्प पक्षको आकलन रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया