
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् । शेर्पा यसअघि काउन्सिलको सदस्य थिए ।
केहीबेरअघि सकिएको मतगणनामा डा.शेर्पाले ५२३४ मत ल्याएर जित हात पारेका हुन् । उनका नजिकका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ४३५० मत पाए । उपाध्यक्षका अर्का उम्मेदवार डा. अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा सबैभन्दा बढी डा. छविलाल पन्थीले ४८५७ मत पाएका छन् । डा. सारिका गोइतले ४४७९, डा. दिपेन्द्र पाण्डेले ४०१५ , डा. योविन कुमार यादवले ३६४८ मत ल्याएर सदस्य निर्वाचित भएका छन् । त्यसैगरी डा.अस्मिता पोखरेलले ३४०४, डा. सम्राट पराजुलीले ३२८२, डा. रबिन बस्नेतले ३०७२ र निना राईले ३१११ मत पाएर मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित भएका छन् ।
‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।
निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि ४ वर्षको रहने व्यवस्था छ ।







