
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकता बाख्रा र कुखुराको मोर्चाबन्दीसँग तुलना गरेका छन्।
उनीहरुविचको एकताले बाघको मुकाबिला गर्न नसक्ने भनाई ओलीको छ। काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। ओलीले एमालेको विशालकाय देखेर उनीहरु तर्सिएको समेत बताए।
‘अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ । विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ ? मुकाबिना हुन्छ ?,’ अध्यक्ष ओलीले भने।
उनले नेपाली कांग्रेसको प्रसङ्ग समेत उल्लेख गरे। ‘छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले,’ उनले भने।
ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने पनि बताए। घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै उनले बालेन शाहप्रति कटाक्ष समेत गरे।
‘प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा। हामी चुनाव पर्खिरहेका छौं, कहिले होला? फागुन २१ मा होला। अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने।
उनले महाधिवेशनबाट धेरै कुराको जवाफ दिएको पनि बताए। अब निर्वाचनबाट राष्ट्रिय फैसला दिने समेत उनले बताए। लोकतन्त्र अजेय रहेकोले यसलाई कसैले जित्न नसक्ने ओलीको भनाई छ।
‘खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा हुँदैन, तर खेल उत्कृष्ट खेलाडीले जित्छ,’एमाले अध्यक्ष ओलीले भने।







