
काठमाडौं । प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले अदालतका कमीकमजोरीको पनि समीक्षा र आत्ममूल्याङन भइरहेको बताएका छन्। राउतले विहीबार पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराएका हुन्।
उनले अदालत आउने मुद्दामा दुईवटा पक्ष हुने बताउँदै एउटा पक्षको कुरा जायज ठहर्याएर निर्णय दिँदा हार्ने पक्षलाई संगठित बनाएर अदालत विरुद्ध प्रहार गर्न लगाउने हो भने त्यसले अन्ततोगत्वा कसको हित हुन्छ ? भन्ने प्रश्न पनि गरे। सामाजिक सञ्जालबाट न्यायपालिकाका बारेमा निकै नकारात्मक धारणा र दृष्टिकोण प्रवाह भएको चिन्ता समेत उनको थियो।
समाजमा अदालतविरुद्ध घृणा र द्वेष फैलाइरहने, न्यायपालिकालाई काम गर्न नदिने, अनि मिथ्या सूचना समाजमा फैलाएर अदालतलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भनाई उनको थियो । कुनै अभियानको नामबाट अदालत विरुद्ध श्रृङ्खलाबद्ध रुपमा आक्रमण भइरहेको प्रसङग पनि राउतले राखे।
‘उहाँहरूले श्रृङ्खलाबद्ध रुपमा त्यस्ता मानिसहरूलाई संगठित बनाइरहनुभएको छ, यो ठट्टाको विषय होइन। अदालतविरुद्ध ख्यालठ्टटा गर्दागर्दै यो स्थायी संस्थामाथि आक्रमण गरिरहने अभ्यास हुँदैछ,’ राउतले भने, ‘अदालतभित्र पनि कमिकमजोरी होलान् । हामीले आफ्नै कमिकमजोरी खोजिरहेका छौं। नियमित रुपमा समीक्षा गरिरहेका छौं, आत्ममूल्यांकन भइरहेको छ।’
हिजोका दिनमा त्यस्तो त्रुटी भएको रहेछ भने पनि संवेदनशील, गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुने प्रतिबद्धता राउतको छ। साथै, प्रधानन्यायाधीश राउतले प्रहरीको अनुसन्धानपछि सरकारी वकिलहरूले मुद्दाको अभियोजन गर्ने र अनुसन्धान त्रुटिपूर्ण भएमा पूर्ण नहुने पनि बताए।
‘अहिले आएर हाम्रो पद्धतिलाई जनमानसमा बुझाउन सकेनौं कि भन्ने लागेको छ । समाजले यो कुरा बुझेको थियो भन्ने लागेको थियो । सामाजिक सञ्जाल र कतिपय अवस्थामा सञ्चारमाध्यमले अतिरञ्जित हुने तरिकाले विषयवस्तु प्रवाह गर्ने काम गरे कि ?,’ राउतले भने।
उनले यतिबेला आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग गरेर झुटा र भ्रामक सन्देश प्रवाह भइरहेको पनि बताए । अदालतभित्र व्यापक भ्रष्टाचार छ भन्ने सन्देश प्रवाह हुनेगरी सामग्री तयार गरिएको राउतको भनाई थियो । समाचार वा सूचना प्रवाह गर्ने नाममा अदालत र न्यायाधीशहरूप्रति घृणा फैलाउने काम भइरहेको पनि उनले बताए । अस्वस्थ, अराजक र अभद्र टिप्पणीहरू भइरहेको गुनासो राउतको छ।
यतिबेला मुलुक एकदमै तरल अवस्थामा पुगेको र परिस्थिति असहज भएको समेत राउतले बताए। ‘यो बेलामा देशको न्यायपालिकालाई कमजोर बनाउने रणनीति चालेको देखिन्छ । न्यायसम्पादनको कामलाई जटिल बनाउने उद्देश्यले यस्तो गरिएको छ,’ राउतले भने, ‘तिमी आदेश त गर, तिमी फैसला त गर, तिमीलाई हामी खोजीखोजी कुट्छौं, खोजीखोजी मार्छौं भन्ने तहको धम्की प्रवाह भएको छ । अब राज्यको चौथो अंगले यस्तो विषाक्त वातावरण निस्तेज बनाइदिन भूमिका खेल्नुप¥यो।’
यस्तो बिषय अदालत र न्यायाधीशको मात्रै नभएको बताउँदै राज्यको चौथो अंगले न्यायपालिकाको गम्भिरता र संवेदनशीलता बुझिदिनुपर्ने भनाई राउतको थियो। उपयुक्त वातावरणविना न्यायाधीशहरूले न्यायसम्पादन गर्न नसक्ने बताउँदै जनमानसमा भ्रम छर्ने र आतंकित बनाइरहने हो भने भोलि न्यायसम्पादनको काम कष्टकर र दुरुह हुने उनको भनाई छ । यस्तो अवस्थामा अन्ततः मुलुकले दुःख पाउने पनि उनले बताए।







