
काठमाडौं । सिंहदरबारमा सरकार र नागरिक बचाऊ अभियानबीच वार्ता भएको छ।
सरकार र अभियानका विच भएको वार्ता सकारात्मक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन्।
मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच सिंहदरबारमा भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ। शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति समेत भएको मन्त्री खरेलले जानकारी दिए।
‘वार्ता सकारात्मक छ। संविधान र कानुनअन्तर्गत रहेर उहाँहरूको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ। उहाँहरूको मागबारे केस्राकेस्रा छलफल भएको छ,’ उनले भने, ‘सरकारको दायरा र जिम्मेवारीअन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ।’
प्रधानमन्त्री कार्कीले अभियानले राखेका मागलाई गम्भीर चासोका साथ लिएको जनाइएको छ। सिंहदरबारमा भएको छलफलमा अभियानले आफ्ना मागप्रति सरकारको ध्यानार्कषण गराएको थियो।







