
काठमाडौं । कांग्रेस कार्यसंपादन समितिको बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्।
कार्यसम्पादन समिति बैठकले पुसभित्र आवधिक महाधिवेशन नगरी नयाँ कार्यतालिका पारित गरेकाले अब विधान अनुसार विशेष महाधिवेशन हुने दाबी गरे।
पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बाध्यकारी भएको पनि उनले बताए। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको जानकारी थापाले दिएका छन्।
‘केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रले आह्वान गरेर हुन्छ, नियमित महाधिवेशन हुन नसकेकोअवस्थामा विशेष महाधिवेशन बाध्यकारी भएको छ, केही दिनमा टुंगो लाग्ने छ,’ महामन्त्री थापाले संचारकर्मीसँग भने।
यता, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ।
कार्यसंपादन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले पुसमा प्रस्तावित महाधिवेशनसम्भव नभएपछि संशोधित कार्यतालिका पास गरेको बताए।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैशाखको अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।







