
काठमाडौं। भारतीय रुपैयाँ (भारु) कमजोर बन्दा अमेरिकी डलरको भाउ फेरी उकालो लागेको छ। डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेपछि पुनः ओरालो लागेको थियो।
नेपाल राष्ट्र बैंकले एक डलरबराबर १४४.६२ रुपैयाँ तोकेको छ। भारु डलरसँग निरन्तर कमजोर बनिरहेको छ। एक डलरबराबर ९० भारु कायम भएको छ। यसअघि ९०.८२ भारु पुगेको थियो।
अमेरिकाले भारतीय वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाएपछि भारतीय अर्थतन्त्रमा असर परेको छ। अर्थतन्त्र कमजोर बनेपछि भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।
अमेरिकातर्फको निर्यात घटेपछि भारतमा उत्पादनमूलक उद्योग समस्यामा परेका छन् भने ठूलो संख्यामा रोजगारी कटौती भएको छ। भारतले जीएसटी दर घटाएर अमेरिकाको भन्सारदरबाट उत्पन्न असर कम गर्ने नीति लिएको छ। यसले भारुलाई झनै कमजोर बनाएको छ।
अमेरिकाको भन्सारदरको असर, बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित मुलुकहरुमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरु कमजोर बनेका छन्।
नेरुको भारतीय रुपैयाँ (भारु) सँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु कमजोर हुन गएको हो। डलरसँग नेरु कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
गत जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको भाउ बढेर १४१ रुपैयाँसम्म पुगेको थियो।
२०८२ असारको तुलनामा गथ कात्तिकमा डलरसँग नेपाली रुपैयाँ ३.३ प्रतिशत अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.० प्रतिशत अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ। मंसिर अन्तिमसम्म आइपुग्दा नेरु थप कमजोर हुन पुगेको छ।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। चालू आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशत बढेको थियो। गत कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रहको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशत वृद्धि भई ४ अर्ब ८८ करोड पुगेकोछ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो । रेमिट्यान्स अप्रावह यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ। आयात गरिने वस्तु महँगो हुन जान्छ।
यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ। यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ।
आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिएको छ।
विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। गत वर्ष ३३ अर्ब रुपैयाँ बढी लाभांशको रुपमा विदेसिएको छ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ। यस्तै स्थानीय मुद्राहरु कमजोर बनेका छन्।







