काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनकाे लागि तीन वटा क्षेत्रकाे उम्मेदवार घाेषणा गरेकाे छ।
शनिबार पार्टी कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।
त्यस्तै, बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचाै भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।