विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा विश्वासको मतसिद्ध गर्न आवश्यक ४७ मत पुगेको बैठकको अध्यक्षता गरेका इस्माइल मन्सुरीले घोषणा गरे।

थापालाई नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा एसका ४ जना र जसपाका एक जना सांसदले मत दिएका थिए। उनको विपक्षमा ३० मत परेको थियो। कुनै पनि सांसद तटस्थ बसेनन्। प्रदेशमा ९३ जना सांसद छन्।

कोशीमा सभामुख छैनन्। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर उद्धव थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेपछि उक्त पद रिक्त भएको हो। उपसभामुख पनि अनुपस्थित बनेको प्रदेशसभा इस्माइल मन्सुरीले चलाएका थिए।

मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएपछि एमालेबाट सांसद चुनिएर उपसभामुख बनेकी सिर्जना दनुवार काठमाडौँ लागेकी थिइन्। यसपछि इस्माइलको भागमा बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आइपरेको थियो।

बैठकको अध्यक्षता गरेका मन्सुरीले पनि कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत दिएका छन्। नेपालको संविधानमा प्रदेशसभामा मत बराबर भएको अवस्थामा मात्र सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मताधिकार हुने उल्लेख छ। थापाले विश्वासको मत पाएपनि यो विषय अदालतमा जाने देखिएको छ।

सभामा मतदानको कार्यक्रम सकिएपछि अध्यक्षता ग्रहण गरिरहेका मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गर्न बोलाएका थिए। यसपछि उनी पनि सभामुखको आसनतर्फ गईन्। तर एमालेका सांसदहरूले चर्काचर्की गरे। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की सांसद तिम्सिना सभामुखको आसनतर्फ चढेसँगै एमाले सांसदहरुले नाराबाजी गरेका हुन्।

चर्काचर्की हुने अवस्था आएपछि मन्सुरीले नै अन्तिम मतपरिणाम घोषणा गरेका थिए। घोषणापछि पनि एमालेका सांसदहरूले चाराबाजी चर्काइरहेको अवस्थामा सभाको बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको घोषणा मन्सुरीले गरे।

तपाईको प्रतिक्रिया