काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले विभिन्न उपसमितिहरु गठन गरेको छ । उपसभापति पुर्णबहादुर खड्काले परिचालन समितिअन्तर्गत विभिन्न ७ वटा उपसमितिहरु गठन गरेका हुन् ।
त्यसमध्ये आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा नेता मीन विश्वकर्मा मनोनित भएका छन् । उपसभापति खड्काले पुर्वमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयको जिम्मेवारी दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उपसभापति खड्काले भ्रातृ संघ समन्वय एवम् परिचालन उपसमितिको संयोजकमा सुरेन्द्रराज पाण्डे, अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिमा प्रदीप पौडेल र शुभेच्छुक संस्था समन्वय एवम् परिचालन समितिमा मदनबहादुर अमात्य मनोनीत गरेका छन् ।
त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिको संयोजकमा उदय शमशेर राणा, जिल्ला सम्पर्क समन्वय उपसमितिको संयोजकमा जीनजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा रामहरि खतिवडा मनोनीत भएका छन् ।