शहरी विकासमन्त्री सीता गुरुङ शुक्रबार गृहजिल्ला तेह्रथुमका जनप्रतिनिधि र नेताहरुसमेतलाई साथ लिएर भौतिक पूर्वाधार मन्त्रालय पुगिन् ।
उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कार्यकक्षमै गएर भेटिन् । तर भेट सरकारका मन्त्री-मन्त्रीबीचको औपचारिकतामा मात्रै सीमित थिएन । मन्त्री गुरुङले भौतिक पूर्वाधारमन्त्री ज्वालालाई गृह जिल्ला तेह्रथुमको विकास निर्माणबारे ध्यानाकर्षण गराएकी छिन् ।
मन्त्री गुरुङले जिरिखिम्ती-मोराहाङ सडक कालोपत्रेकालागि थप बजेटको प्रबन्ध गर्न र मध्यपहाडी लोकमार्गको फेदाप खण्डको काम तीब्र गतिमा अघि बढाउने व्यवस्था गरिदिन आग्रह गरेकी छिन् ।
त्यस्तै, लुमुघाटमा निर्माणाधीन पुल निर्माणको कामका विषयमा समेत मन्त्री ज्वालालाई ध्यानाकर्षण गराइएको मन्त्री गुरुङका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङसँगै कांग्रेस नेता गोविन्द ढुंगाना, जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्रीप्रसाद कार्की, राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक रामकृष्ण निरौला लगायत नेताहरु समेत भौतिक मन्त्रालय पुगेका थिए ।