कालीकोट । कालीकोटको महावै गाउँपालिकाको सडक निर्माणमा ५२० मिटर सडक खन्दा करिव ३९ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको दायर गरेको छ।
महावै गाउँपालिका तत्कालिन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह र वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। महावैको सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी काम गरेको बिल बनाउन लगाएको अनुसन्धानबाट खुलेको छ।
गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ बढी भुक्तानी गरी आफूहरूलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पु¥याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको अख्तियारको भनाइ छ। वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाएर बढी रकम भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको थियो।
अख्तियारबाट अनुसन्धान हुँदा महावै गाउँपालिकाले आर्थिक वर्ष २०७५–२०७६ मा सिमखेतदेखि पादमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गराएको खुलेको छ। सडक निर्माण कार्यमा लम्बाई ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गर्दै प्रतिवेदन तयार पारेको अख्तियारले जनाएको छ। यस्तै, फिल्डमा सडकको वास्तविक लम्बाई ५२० मिटर, चौडाइ औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको ठहर अख्तियारको छ।