काठमाडौं । सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषयमा प्रहरीले समेत छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले समकक्षता लिदाँ सांसदसँग घुस लिएको विषयको अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

‘सांसदले नै घुस दिएर काम गरेको बताए पछि त्यसको ट्रयाकिङ गर्न प्रहरी महानिरिक्षकलाई निर्देशन दिएको छु’ गृह मन्त्री लेखकले भने ।

जनता समाजवादी पार्टीका सांसद बिरेन्द्र महतोले छोराको कक्षा १० र १२ को समकक्षता लिन पाँच हजार रुपैंया घुस दिएको गत आइतबार संसदको रोष्टमबाटै बोले पछि शिक्षा मन्त्रालयले सह सचिवको नेतृत्वमा तीन सदसीय छानबिन समिति बनाईसकेको छ । यही बिचमा उक्त काण्डको छानबिन गर्न गृहमन्त्रीले प्रहरीलाई समेत निर्देशन दिएका हुन् ।

गृह मन्त्री लेखकले पूर्व मन्त्री एवं सांसद महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा समेत गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले उठाएको विषयलाई सम्बोधन गरेका थिए । यो घटनामा सरकार गम्भीर रहेको भन्दै उनले अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका थिए । व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको पनि लेखकले बताए ।

‘मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिदिन आग्रह गरेको छु’ उनले भने ।

सांसदको उक्त अभिव्यक्ति प्रति मंगलबार संसदमा रुलिङको माग समेत उठेको थियो । प्रतिनिधि सभा बैठकमा बोल्दै सत्ताधारी दल नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सांसदले नै घुस खुवाउनु परेको बताउँदा समेत संसदले नजर अञ्दाज गरेको भन्दै आपत्ति जनाएका थिए ।

तपाईको प्रतिक्रिया