काठमाडौं । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् । नागरिक समाज र अधिकारकर्मीले पीडितलाई न्याय दिन माग गर्दै यो दिनलाई जात व्यवस्थाविरुद्व प्रतिरोध दिवसकोरुपमा मनाउँदैछन् ।
बृहत् नागरिक आन्दोलनसहित विभिन्न संघसंस्थाले मंगलबार काठमाडौंको माइतीघरदेखि घटनास्थल भेरी किनारसम्म दबाबमुलक कार्यक्रमको आयोजना गरेका छन् । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रम हुँदैछन् ।
बृहत् नागरिक आन्दोलनले दिउँसो १२ बजे माइतीघर मण्डलामा जात व्यवस्थाविरुद्वको प्रतिरोधमा कविता वाचन, नाटक प्रदर्शन र खबरदारी सभा गर्ने जनाएको छ । त्यस्तै, कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा भेरी प्रतिरोध मार्च गर्दैछन् । त्यसकालागि काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट न्यायकालागि दबाब दिँदै अधिकारकर्मीहरु भेरी किनार पुगेका छन् ।
मंगलबार साँझ पाटन दरबार क्षेत्रमा दिप प्रज्वलन गर्ने कार्यक्रम छ । घटनामा दोषीलाई कारवाही गर्नुको सट्टा तोडमोड गरी सरकार नै भवितव्य घटनाको रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको पीडितको गुनासो छ ।
घटनामा आरोपित ३४ जनामध्ये ११ जना थुनामुक्त भइसकेका छन् भने २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
२०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका—४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका—८, सोतीका गैर दलित समुदायको भीडले क्रुर हत्या गरेका थिए ।
यस्तै, जात व्यवस्था उन्मूलन मोर्चाले विद्रोह दिवसको रुपमा देशैभरि कार्यक्रम गर्दैछ ।
सरकारले पीडितलाई न्याय दिन नसकेको प्रति घोर बिरोध गर्दै मोर्चाले जात व्यवस्थाविरुद्वको विद्रोह दिवसकोरुपमा देशब्यापी रुपमा बिरोध प्रदर्शन गर्न लागेको संगठनका केन्द्रिय सचिब महावीर विश्वकर्माले बताए । उनका अनुसार काठमाडौंको माइतीघरमा विरोध सभाको आयोजना गरिएको छ ।
सुनारका अनुसार जातकै कारण ६,६ जना मान्छेले ज्यान गुमाउने कुरा सामान्य नभएको तर राज्यशत्ताले उक्त मुद्धामाथी खेलाचि गरेको भन्दै यसलाई जात व्यवस्था विरुद्धको ”विद्रोह दिवस” कै रुपमा मनाउने तयारि गरिएको बताएकी छन ।
साथै मुद्धा वेवास्ता गरेको भन्दै कडा प्रतिकार गर्ने र सुनुवाई नभए आन्दोलन थप चर्काउदै लैजाने भन्दै संगठनले चेतावनि दिएको छ ।