तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।
आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
विजेता बनेको लुङ्छाताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको खाम्लालुङले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
खेल अवधिभर दुवै टिमले आकर्षक खेल प्रस्तुत गरेपनि निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरबाट खेलको निणर्य लिइएको थियो । खेलमा लुङ्छाताका गोलकिपर रोशन नेपाल हिरो अफ दि म्याच रहे ।
उनले खेल अवधिमा मात्रै होइन, पेनाल्टी सुटआउटमा समेत आकर्षक बचाउ र गोल गर्दै टिमलाई जित दिलाए । लुङ्छाताका लागि रोमन कन्दङवा, रोशन नेपाल र रोशन आङ्देम्बेले गोल गरे ।
यही मैदानबाट फुटबल सिकेर ए डिभिजन लिगसम्म स्थान बनाएका लुङ्छाताका खमिर गिल्सन कन्दङवाको प्रहार भने खाम्लालुङका दिपेन फोम्बोले रोकिदिए । खाम्लालुङका लागि सन्तु फोम्बोले एकल गोल गरे ।
खाम्लालुङका अनुप सेन्दाङ र सुनियोजित लिम्बुको प्रहार लुङ्छाताका गोलकिपर रोशन नेपालले रोक्न सफल भए ।
मेलाको सन्दर्भमा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि भने म्याङलुङ स्पोटिङ क्लबले जितेको छ । फाइनल खेलमा ओएसिस युनाइटेड हाम्पाङ ताप्लेजुङलाई पराजित गर्दै म्याङलुङले उपाधि जितेको हो ।
म्याङलुङले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको ओएसीसले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
खेलका विजेताहरुलाई पूर्व प्रदेश सांसद तेजमान कन्दङवा, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम लगायत अतिथिहरुले पुरस्कार वितरण गरे ।
छातेढुंगामा ०३९ सालदेखि लाग्दै दिपावली मेलाको सन्दर्भमा यसवर्ष पनि विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । खेलकूद र सांस्कृतिक कार्यक्रमहरुसँगै मंगलबारदेखि यो वर्षको मेला सकिएको छ ।