तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा लालीगुराँस पार्क निर्माण भएको छ । उक्त पार्कको मंगलबार नेपाली कांग्रेसकी नेता, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।
गुरुङ शहरी विकासमन्त्री हुँदा उक्त पार्क निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन भएको थियो । सोही बजेटबाट नयाँ शहर आयोजना कार्यालय बसन्तपुरले पार्क निर्माण गरेको हो ।
पूर्वमन्त्री गुरुङले टीएमजे क्षेत्रको पर्यापर्यटनलाई जोड दिएर पहाडी जिल्लाहरुको आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने बताइन् । उनले पार्क निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखिन् ।
लालीगुराँस पार्क क्षेत्रमा गुराँस रोपण, पदमार्ग निर्माण , पोखरी संरक्षणका साथै पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधारहरू निर्माण गरिएको छ । पूर्वी पहाडी क्षेत्रको चर्चित पर्यटकीय गन्तव्य टीएमजे गुराँसको राजधानीको रुपमा प्रसिद्ध छ । यस क्षेत्रमा गुराँस फुल्ने र हिउँ पर्ने मौसममा पर्यटकको चाप बढ्ने गर्दछ । यहाँ नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् ।