काठमाडौँ। नेपालमा पहिलो पटक ‘राष्ट्रिय दलित गोलमेच सम्मेलन’ भइरहेको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा बिहीबारदेखि सुरु भएको सम्मेलनको अजित मिजारका बुबा र दीपक डोमबाट संयुक्तरूपमा गरियो।
काभ्रेका मिजार अन्तरजातीय विवाहकै कारण ०७३ सालमा मारिएका थिए। परिवारले न्यायको माग गर्दै अहिलेसम्म पनि उनको शव बुझेको छैन। डोम केही महिनाअघि सिराहामा महायज्ञ गर्नका लागि घर भत्काएर घरबारविहीन बनाइएका दलित हुन्।
मिजार र डोमले सम्मेलनमा विशेष सम्बोधन गरे। न्याय प्राप्तिका लागि आफूले गर्नुपरेको संघर्ष र अनुभव सुनाए। गोलमेच सम्मेलनका संयोजक तथा दलित अभियन्ता डा. निर्मलकुमार विश्वकर्माले नेपालमा दलित समुदायको मुक्तिका लागि पहिलो पटक गोलमेच सम्मेलन भएको बताए।
विश्वका विभिन्न देशको गोलमेच सम्मेलनको उदाहरण दिँदै विश्वकर्माले भने,‘हामीले गोलमेच सम्मेलनमार्फत दलित आन्दोलनको समीक्षा गर्दै पुस्तक प्रकाशन र घोषणा पत्र तयार गर्नेछौँ । जसले दलित मुक्ति आन्दोलनलाई नयाँ दिशा प्रदान गर्नेछ ।राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो।’
संयोजक विश्वकर्माले सदियौं देखिको दलित समुदायमाथि भएको उत्पीडनका साथै त्यसबाट मुक्तिको प्रयास र संघर्षको समीक्षा गर्दै सम्मेलन अवधिभर राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा जनसंख्याको आधारमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस भएको बताए।
सम्मेलनमा भारतीय दलित अभियन्ता प्रकाशकुमारले नेपालमा पहिलो पटक आयोजना गरिएको दलित गोलमेच सम्मेलनमा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरे। उनले भारतमा समेत जातीय विभेदको अवस्था उस्तै रहेको भन्दै विश्वबाटै सबै खालका विभेद अन्त्य गर्नका लागि एकजुट हुनुपर्ने बताए । विभेद अन्त्यको लागि भारतबाट काँधमा काँध मिलाउने प्रतिबद्धता समेत उनले जनाए।
नेपाली दलित आन्दोलनका अगुवा डिकबहादुर विश्वकर्माले दलितमाथिको उत्पीडनको श्रृंखला लामो भएको भन्दै त्यसका विरुद्धमा गरिएको आन्दोलन पनि लामो भएको बताए । राज्यले कानुन बनाएरै दलित माथि उत्पीडन गरेको इतिहाँस कोट्याउँदै विश्वकर्माले जातीय वि भेदको अन्त्यका लागि पनि राज्यले नै पहल गर्नु पर्ने धारणा ब्यक्त गरे ।
दलितले हतियार उठाएर आन्दोलन गर्ने आँट नगरे दलित मुक्ति असम्भव भन्दै हतियार उठाएर आन्दोलन गर्नुपर्ने र जनसंख्याको आधारमा राज्यमा प्रतिनिधित्व र स्रोत साधनमा हिस्सेदारी नै आजको आवश्यकता र दलित अधिकारको माग रहेको विश्वकर्माको दाबी थियो। कार्यक्रमलाई केशव सूर्यवंशी, खगेन्द्र मादेन, जीतेन्द्र देव, रोमा विश्वकर्माले शुभकामना दिएका थिए।
सम्मेलनमा देशभरिका दलित अभियन्ता तथा बुद्धिजीवी, मानवअधिकारवादी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू सम्मेलनमा सहभागी छन्। सम्मेलनमा दलित आन्दोलनको समीक्षा, दलित समुदायको वर्तमान स्थिति, दलित समुदाय माथिको विभेदको स्थिति, नेपाली समाजको अन्तरद्वन्द्व, दलित मुक्ति आन्दोलनको भावी रणनीति, दलित मुक्ति आन्दोलन राजनीतिक शक्ति निर्माण गर्दा वैचारिक आधार, दलित मुक्ति आन्दोलनमा गैरदलितको भूमिकालगायत विषयमा छलफल भएको छ। सम्मेलन आइतबार सकिँदै छ।