काठमाडाै । दर्जनभन्दा बढी कलिला युवाले सडकमा बगाएको रगतको पृष्ठभूमिमा तपाईंले कुर्सीमा बसिरहन सुहाउँछ ? सोमवारको यो आन्दोलनबाट अहिलेको सरकारको वैधता सकिएको छ। भविष्यका लागि कस्तो नेतृत्व, विधि र रोडम्याप बनाउने भन्ने कुरामा मानिसहरूले बहस गर्लान्। तर, अहिलेका लागि चाहिं प्रधानमन्त्री ओलीजी, योर टाइम इज अप !
जेन-जीको विरोध प्रदर्शनमा राज्यबाट भएको दमन त्रासदीपूर्ण र दुखद् छ। निशस्त्र मानिसहरू यति ठूलो सङ्ख्यामा सरकारी सुरक्षाकर्मीको गोली खाएर मर्नुपर्ने अवस्थाले नेपालको संकटपूर्ण अवस्थाको विकराल चित्र प्रस्तुत गरेको छ। यसको चर्चा गर्नुअघि सोमवारको घटनासँग जोडिएका दुई पक्षको संक्षिप्त चर्चा गरौं।
सुरक्षा संगठन विरोध प्रदर्शनको सामना गर्ने क्रममा यति धेरै आततायी कसरी भए ?
लोकतान्त्रिक पद्धतिमा विरोध र प्रदर्शन हुन्छन्। यस्ता प्रदर्शनहरूमा मानिसहरू आक्रोशित बन्न सक्छन्। यसमा ‘घुसपैठ’ पनि हुनसक्छ। राज्यको सुरक्षा निकायले यसको आकलन गर्ने र धनजनको सुरक्षाका लागि आवश्यक उपाय अपनाउने हो। प्रदर्शनकारी आक्रामक भए भन्ने आधारमा अन्धाधुन्ध गोली ठोक्ने र मानिसहरूको ज्यान लिने राज्यको सुरक्षा निकायको रणनीति हुन सक्दैन। यसपटकको जेन-जीको आन्दोलन र यसअघिको राजावादीहरूको आन्दोलनमा प्रहरीले जस्तो चरित्र प्रदर्शन गर्यो त्यो भाडामा परिचालित अपराधीहरूको चरित्रसँग मिल्दोजुल्दो छ।
प्रहरीको चरित्र यस्तो हुनमा राजनीतिक दलहरू जिम्मेवार छन्, जसले प्रहरीलाई व्यावसायिक बनाउनमा भन्दा सलामी, गुलामी र मलामीमा उपयोग गरे र गरिरहेका छन्। प्रहरी नेतृत्वको नियुक्तिमा हुने गरेका लेनदेन सतहमा देखिने स-साना पानीका फोका मात्र हुन्। राजनीतिक दलहरूले राज्यको प्रहरी बललाई आम जनताको सुरक्षाका लागि कम र सत्ता र शक्तिको विस्तारका लागि बढी प्रयोग गरेका छन्। यसबाट प्रहरी संगठनमा व्यावसायिकता धराशायी भएको छ। प्रहरी संगठन आम जनताप्रति जिम्मेवार नभएर दलका नेताप्रति जिम्मेवार छ।
राजावादीहरूको आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकाका बारेमा प्रशस्त बहस हुनसकेन। राजनीतिक दलहरूले त्यसबेला भएको धनजनको क्षतिको विश्लेषण गरेर त्यसमा जिम्मेवारलाई कारबाही गर्न सकेको भए सम्भवतः सोमवारको हिंसा टर्न सक्थ्यो।