काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकी छन्। जेन-जी आन्दोलन, वार्ता र सहमतिपछि शुक्रबार राति मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्रै निर्वाचन र पुनर्निर्माणको खाका कोर्नुपर्ने बाध्यता छ। कार्की चुस्त टीम बनाएर चुनावी सरकारबाटै भएपनि ऐतिहासिक पहलकदमी चाल्ने प्रयासमा छिन्।

यतिबेला उनको मन्त्रिपरिषद्‌मा को-को मन्त्री बन्दैछन् भन्ने सर्वत्र चासो छ। तर प्रधानमन्त्री कार्कीले अहिलेसम्म क-कसलाई मन्त्री बनाउने भन्नेबारे कुनै निर्णय लिएकी छैनन्। जेन-जी आन्दोलनको जगमा सरकार बनेको भएर सरकारमा मन्त्रीहरू बनाउने विषयमा समेत जेन-जी आन्दोलनका अगुवाहरू नै निर्णायक हुने देखिन्छ। यद्यपि अहिले जेन-जी आन्दोलनको अग्रमोर्चामा देखिएका युवाहरू मन्त्रीको चर्चामा छन्।

आन्दोलनमा जेन-जी पुस्ताको रोजाइमा परेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्ना सल्लाहकारमध्येबाट एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। स्रोतका अनुसार उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल मन्त्री बन्ने निश्चित जस्तै छ। त्यस्तै, जेन-जी आन्दोलनका नेता सुदन गुरुङ पनि मन्त्रीका दाबेदार मानिएका छन्।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि मन्त्री बन्न जेन-जीहरूले आग्रह गरिरहेका छन्। गैरराजनीतिक क्षेत्रका व्यक्तिहरूलाई जेन-जीहरूले मन्त्री बन्न आह्वान गरिरहेका छन् भने मन्त्रीका लागि नाम सिफारिस गर्न उनीहरूले गुगल फर्ममार्फत् सार्वजनिक आह्वान समेत गरेका छन्। सरकारमा मन्त्री बन्नका लागि दाबी पेश गर्नेहरूको नाम पनि छ। दलित समुदायबाट पूर्वसचिव मानबहादुर विकको नाम चर्चामा छ भने अभियन्ता खगेन्द्र सुनार पनि मन्त्री बन्ने सम्भावित पात्र रहेको जेन-जी नेताहरू बताउँछन्।

त्यस्तै, रुपन्देहीका किरण विकले शनिबार आफू शिक्षामन्त्रीको आकांक्षी रहेको दाबी नै पेश गरे। जेन-जी आन्दोलनका नेताहरूले यो सरकार गैरदलीय हुने दाबी गरिरहेका बेला आन्दोलनमा भित्रभित्रै साथ दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलहरूको प्रतिनिधित्व हुने वा नहुने भन्ने प्रश्न समेत कायम छ।

प्रधानमन्त्री कार्की पूर्वप्रधानन्यायाधीश समेत भएकाले कतिपय मन्त्रीहरू न्याय तथा प्रशासन क्षेत्रबाट समेत हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया