काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक सरकारी संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन्।

सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन्। उनले यो देखेर आफूलाई लाज लागेको पनि बताइन्।

“नेपाली भएर कसैले यस्तो काम गर्छ ?,” उनको प्रश्न छ । उनले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्नसमेत गरिन्। प्रधानमन्त्री कार्कीले यसप्रकारको घटना पहिलो पटक भएको बताइन्। उनले भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने बताइन्।

“यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भए। हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाईलहरु थिए, ती नष्ट भएर गए,” उनले भनिन्, ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाँहि शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट गर्ने काम भएको छ। मलाई यो देखेर लाज पनि लागेको छ।”

उनले यस्ता घटनाहरूको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन्। यसरी प्रहार गर्नेहरुलाई, नोक्शान गर्नेहरुलाई अपरिहार्य वस्तुलाई माटोमा मिलाउने काम गरिएको छ । त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यसको कारबाही हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया