चितवन । चितवनमा २४ भदौमा जेनजी प्रर्दशनकारीका नाममा जिल्लाका अधिकांश सरकारी कार्यालय, पालिका तथा वडा कार्यालय भवनहरू जलेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट प्रर्दशनकारीहरूले सरकारी भवन जलाउने कामको सुरुवात गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय र सँगसँगै रहेको जिल्ला निर्वाचन कार्यालयको भवन जलाएपछि मनोबल बढेका प्रर्दशनकारीले क्रमैसँग अन्य सरकारी कार्यालय पनि जलाए ।

मालपोत कार्यालय र नापी कार्यालय पूर्ण रूपमा जलेका छन् । आगो लगाउन आउने प्रर्दशनकारी केही परिचित अनुहार पनि छन् । केही दलमा सक्रिय भएका कार्यकर्ता पनि छन् । भवन जलाउन आउनेहरू नै २६ भदौमा भवन सरसफाइ गर्छौं भन्दै आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।

जलेका सरकारी भवनहरूको सरसफाइ कर्मचारी, सुरक्षाकर्मी भन्दा बाहेक अन्यले गर्नु नपर्ने र नदिने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

‘जो अघिल्लो दिनमा भवन जलाउन आए उनीहरू नै भोलिपल्ट हामी सरसफाइ गर्न सहयोग गर्छौं भन्दै आए,’ प्रजिअ अर्यालले भने, ‘भएका र बचेका सरसामान पनि नष्ट हुनसक्ने र हराउने थप जोखिम देखेपछि रोक्यौं ।’

उनका अनुसार सरकारी कार्यालय जलाउँदै हिड्नेहरूले भोलि हुनसक्ने सम्भावित कारबाहीबाट जोगिन यस्तो उपाय रचेको हुनसक्ने बताए ।
आगजनीबाट क्षति पुगेको जिल्ला प्रशासन कार्यालय चितवन ।
विभिन्न सरकारी कार्यालय तथा निजी भवनमा क्षति गर्नेहरूको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकृतले जानकारी दिए ।

‘हामीले आफ्नो संयन्त्रबाट पनि हेरिरहेका छौं, नागरिकसँग भएका भिडियो तथा जानकारी पनि दिन भनेका छौं, यी सबै गोप्य हुन्छन्, कोही पनि नडराइ प्रहरीलाई फोटो तथा भिडियो उपलब्ध गराउन सक्नुहुन्छ,’ ती प्रहरी अधिकृतले भने, ‘नागरिकले आफ्नो तर्फबाट गर्ने सहयोग भनेको यहीँ नै हो ।’

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय माडी बाहेकका अधिकांश प्रहरी संरचनामा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीको एक हतियार अझै पनि हराइरहेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

हतियार राख्ने व्यक्तिको नजिकै प्रहरी पुगेको र केही दिनमा नै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया