काठमाडौँ। भदौ २४ मा भएको प्रदर्शन उग्र बन्दा थुप्रै प्रहरी कार्यालय तोडफोड र आगजनी भएका छन् । कार्यलयमा रहेका सवारीसाधन पनि आगजनीमा परेका छन् । सवारी नियम उल्लंघन गर्ने सवारीसाधन र चालकको ब्लुबुक र लाइसेन्स ट्राफिक प्रहरीले कार्यालयमा रहने भएकाले ती पनि जलेका छन् ।अब सवारीधनीले जलेका सवारीसाधनको क्षतिपूर्ति कसरी प्राप्त गर्छन् ? अनि ब्लुबुक र लाइसेन्स फेरि कसरी लिने होला ?
‘यसका बारेमा ठ्याक्कै भन्न नसके पनि ब्लुबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अभिलेख यातायत व्यवस्था विभाग र कार्यलयमा रहन्छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक गिरीले भने, ‘त्यहाँबाट प्रतिलिपि निकाल्ने अधिकार रहन्छ ।’
काठमाडौं उपत्यका प्रहरी कार्यालय पनि जलेर खरानी भएको छ । यहाँ महत्वपूर्ण कागजात र सवारीसाधन समेत जलेका छन् । कानुनमा सवारीसाधनको इन्जिन र चेसिस नम्बरको आधारमा लगत कट्टा गर्न सकिने व्यवस्था छ । त्यो पनि सम्भव नभएमा स्थानीय निकायको आधारमा प्रहरीले सिफारिस गरेरमा लागत कट्टा पाउने र त्यही आधारमा सवारीधनीले बिमाको प्रक्रिया अघि बढाउन सक्छन् । अहिले सरकारी र निजी सवारीसाधानमा धेरै क्षति पुगेकाले अन्य विषय भने मन्त्रालयको निर्णयमा भर पर्ने विभागले जनाएको छ ।
जस्तै: खोलामा खसेर बेपत्ता भएका सवारीसाधनहरुको हकमा यसरी नै बिमा दाबी हुँदै आएको छ । ट्राफिक प्रहरीका अधिकांश काम फिल्डमा नै हुने हुँदा अहिले ट्राफिक प्रहरीले आफ्नो काम सुरु गरिसकेको छ । प्रवक्ता गिरीका अनुसार ट्राफिक प्रहरीको क्षतिको मूल्यांकनका लागि प्राविधिक टोली खटिइरहेको छ ।