काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार पाँच जना मन्त्रीहरू नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा नियुक्त भएका छन्। स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र नियक्त भएकी छिन्। मिश्रलाई यसअघिको एमाले-कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य सचिव हुनबाट रोकेको थियो।

त्यस्तै, डा. मदन परियार कृषिमन्त्रीमा र जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्ति भएका छन्। परियार समता फाउण्डेसनका अध्यक्ष हुन् भने खरेल इमेज टेलिभिजनका प्रधान सम्पादक हुन्।

त्यस्तै, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।

नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार हुनेछ। यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

तपाईको प्रतिक्रिया