
काठमाडौँ। नेपाल प्रहरीको साढे सात दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन्- डम्बरबहादुर विक ।
आइतबार विकसहित डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र हिमालयकुमार श्रेष्ठ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। यसरी हेर्दा कार्यसम्पादनका आधारमा बढुवा भएका विकको यो सफलता नियमित प्रक्रिया जस्तो लाग्न सक्छ। तर यो सामान्य भने होइन।
नेपाल प्रहरीमा डीआईजी बन्नेमै विक नै पहिलो व्यक्ति थिए। उनी नै अहिले एआईजी बनेर अर्को रेकर्ड बनाएका हुन्। विक त्यो समुदायको प्रतिनिधित्व गर्छन्, जसको नेपालमा ४० लाखभन्दा धेरै जनसंख्या छ, तर राज्यबाटै शताब्दीऔँसम्म विभेद, बहिष्करण र उत्पीडनमा पारिएको थियो।
जात व्यवस्थामा आधारित विभेदकारी संरचना भएकै कारण दलित समुदायका व्यक्तिहरूलाई मुलुकको उच्च अहोदामा पुग्न सहज छैन। त्यही विभेदकारी संरचनाको दबदबा रहेको नेपाल प्रहरीमा विक पहिलो पटक एआईजी बनेका हुन्। उनीभन्दा पहिले गोविन्दराज परियार प्रहरी उपरीक्षक (एसपी) सम्ममात्रै भएका थिए। एसएसपीको दावेदार हुँदाहुँदै परियारले २०७३ मंसिर ३० मा सेवा अवधि पूरा भई सेवा निवृत्त भए ।
यसअघि ढालमान थापा पनि एसपीसम्म भए । डम्बरबहादुरले भने एआईजी बन्ने संघर्षमय सफलता हात पारेका छन्। २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागको अधिकृतमा नियुक्त भई २०५७ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समाहित भएका थिए उनी। प्रहरीमा कार्यसम्पादनको मूल्यांकन र बढुवामा विभेद र राजनीति हुने गरेका थुप्रै उदाहरण छन्।
त्यसो त डम्बरबहादुरसँगै प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरू भने यसअघि नै आईजीको दौडमा छन्। तर उनले त्यस्तो मौका पाएनन् । यसका पछाडि कार्यसम्पादन नै प्रमुख हो वा जातीय संरचना ? यो निर्क्योल भने लामै बहस गर्नुपर्छ।
तर विकको यहाँसम्मको संघर्षपूर्ण यात्राले दलित समुदाय हर्षित छ। डीआईजी बढुवा भएपछि विकले सुदूरपश्चिम प्रहरी कार्यालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
एसएसपीमा विपद् व्यवस्थापन महाशाखाको प्रमुख
डीआईजी विक २०७९ साउन २५ मा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । उनीसँगै ३२ जना एसएसपीमा बढुवा हुँदा बिक वरीयताको १०औँ नम्बरमा थिए ।
उनीसँगै पाँचौं, छैटौं र सातौं नम्बरमा एसएसपी बढुवा भएका दानबहादुर कार्की, डा.मनोजकुमार केसी र राजन अधिकारी ६ महिनाअघि गत जेठ ४ मा डीआईजी बढुवा भएर पाँच दिनअघि मात्रै एआईजी भए । उनीहरूको पदस्थापनसमेत भइसकेको छ ।
आफूसँगै बढुवा भएका ३ जना एसएसपी डीआईजी बढुवा भएको ६ महिनापछि मात्रै विक डीआईजी बढुवा भए । एसएसपी बढुवा भइसकेपछि विक गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन त भए, तर प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा काजमा बसेर काम गरे ।
त्यसपछि उनको सरुवा विपद् व्यवस्थापन महाशाखामा भयो । त्यहाँ उनले २०८० जेठ ९ देखि एक वर्षभन्दा बढी समय महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले । महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने उनी दलित समुदायको पहिलो एसएसपी हुन् ।
उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहँदा उनले जाजरकोट र बझाङमा गएको भूकम्पमा प्रहरी युनिट परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरे । त्यस्तै प्रहरीलाई हिमालमा हुने उद्धारमा काम गर्ने जनशक्ति उत्पादनमा मुख्य भूमिका निर्वाह गरे । सात वटै प्रदेशका विपद् गुल्मको निरीक्षक, अनुगमन र प्रभावकारी तथा सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
विपद् व्यवस्थापन महाशाखाबाट उनको करिब १० महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भयो । त्यहाँ तत्कालीन डीआईजी रामदत्त जोशी र किरण राणा कार्यालय प्रमुख हुँदा उनी दोस्रो वरीयतामा थिए । राणा एआईजीमा बढुवा भएपछि विकले करिब एक महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाले ।
आईजी बन्ने सम्भावना कति ?
दलित समुदायबाट पहिलो पटक एआईजी बनेका विक अब आईजीको दाबेदार बनेका छन्। तर सेवा अवधिका कारण उनको आईजी बन्ने सम्भावनामा प्रश्न उठेको छ। एआईजी भइसकेपछि उनी अब स्वत: आईजीका दाबेदार बनेका छन्। प्रहरीमा वरिष्ठता मात्रै हेर्ने कि समावेशिता पनि ? राजनीतिक निर्णयका आधारमा आईजीपी नियुक्त गर्ने अभ्यास रहेकोमा आईजीपी छान्ने बेला यो प्रश्न उठ्ने छ।
हाल प्रहरी महानिरीक्षक रहेका चन्द्रकुवेर खापुङ आगामी मंसिर २३ गते सेवाबाट अवकाश हुँदै छन्। त्यसपछि प्रहरीमा नयाँ आईजीपीको खोजी हुनेछ । अब जो आईजी बनेपनि विकको ब्याचकै हुने हुन्। राजनीतिक नेतृत्वले मुलुकको वर्तमान संविधानको मर्म र भावनालाई केलाएर निर्णय लिने हो भने दलित समुदायले इतिहासमै पहिलो पटक प्रहरीको नेतृत्व पाउने छ। सरकारले चाहेमा विकले नै त्यो अवसर पाउने छन्।
२०२७ माघ २० मा जन्मिएका विकले उमेर हदका कारण २०८३ पुस ५ मा प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउनेछन्।
प्रहरी सेवामा व्यवसायिक अधिकृतको छवि
सामान्य दलित परिवारमा जन्मिएका विकले ५-६ कक्षा पढ्ने समयमै आमा-बुबा गुमाए । त्यसपछि उनको हेरचाह दाइ खड्गबहादुर सुनारले गरे । उनले माध्यमिक तहको अध्ययन दाङ सदरमुकाम घोराहीमा गरेका हुन् । पढाइमा अब्बल उनलाई त्यसपछि दाइले पढ्न नै काठमाडौं पठाए ।
काठमाडौंमा अध्ययन गर्ने क्रममा अनुसन्धान विभागको जागिरमा प्रवेश गरे । विकले प्रहरी संगठनमा इमानदार तथा व्यावसायिक अधिकृतको छवि बनाएका छन् ।
विक २०७४ साल साउन ३० मा प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भए । एसपीको ५ वर्षे कार्यकालमा उनले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुख र जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । प्रदेश ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो दलित हुन् भने जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा पूर्वएसपी गोविन्दराम परियारपछिका दोस्रो व्यक्ति हुन् । उनीपछि एसपी भरतबहादुर विकले रूपन्देही हुँदै वैशाख १५ को सरुवामा गोरखा जिल्ला प्रहरी प्रमुखका रूपमा काम गर्दैछन् ।
एसपीमा बढुवा भइसकेपछि उनको पहिलो पदस्थापन प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत प्रतिआतंकवाद नियन्त्रण शाखा (एटीसी) मा भएको थियो । त्यसबाहेक उनले एसपी छँदा महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पनि काम गरेका थिए ।
धादिङ, प्यूठान र ओखलढुंगा प्रहरी प्रमुख
प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा समायोजित भएपछि २०६४ पुस ३० गते डीएसपी भएपछि जिल्ला प्रहरी कार्यालय धादिङ, प्यूठान र ओखलढुंगाको नेतृत्व गरे । ती जिल्लामा पनि दलित समुदायबाट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने उनी पहिलो व्यक्ति हुन् । विक सरकारी सेवामा आरक्षणको व्यवस्था हुनुअघि नै खुला प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका अधिकृत हुन् ।
अनुसन्धान विभागबाट सेवा प्रवेश गरेका करिब १० मध्ये उनी इन्सपेक्टर हुँदा छैटौं नम्बरमा थिए । डीएसपी बढुवा हुँदा १२औँ नम्बरमा पुगे । यस्तै एसपीमा बढुवामा चौथो थिए । एसएसपी हुँदा १० नम्बरमा झरे । डीआईजी बढुवामा फेरि आठौं नम्बरमा पुगे ।
इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका विकले काठमाडौंको इलाका प्रहरी कार्यालय फर्पिङ र आफ्नै जन्मस्थल दाङको इलाका प्रहरी कार्यालय गढुवामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । इन्स्पेक्टर हुँदा नै जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहामा पनि काम गरेका थिए ।
विक प्रहरी सेवामा प्रवेश गर्दा गोविन्दराम परियार नेपाल प्रहरीमा दलित समुदायबाट एक्ला इन्स्पेक्टर थिए । नेपाल प्रहरीको इतिहासमा असई, सई, इन्स्पेक्टरदेखि डीएसपी हुँदै एसपीसम्म पुग्ने परियार पहिलो व्यक्ति हुन् ।
असईबाट प्रहरी सेवा प्रवेश गरेका कारण परियार एसपीबाटै अनिवार्य अवकाशमा गए । प्रहरीमा अहिले करिब १० प्रतिशत जनशक्ति दलित समुदायबाट छन्। तर माथिल्लो वरीयतामा भने अत्यन्तै न्यून प्रतिनिधित्व छ।







