काठमाडौँ । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना सबैको हुन्छ। तर, दसैँको बेला हवाइजहाज चढेर घर फर्कन चाहनेका लागि यात्रा निकै कठिन हुन्छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै बुकिङ भइसकेको जवाफ वायुसेवा कम्पनीले दिने गरेका छन्।

अनलाइनमार्फत टिकट बुकिङ खुला भए पनि यात्रुले दसैँताका सहुलियत दरको टिकट त परै जाओस्, महँगो टिकट समेत पाउन मुस्किल हुन्छ। काठमाडौँ–धनगढी उडानको भाडा १७ हजार रुपैयाँभन्दा बढी पर्छ भने काठमाडौँ–विराटनगर उडानमा नौ हजार ७०० रुपैयाँ लाग्छ।

धनगढीकी निशा पाण्डेले महँगो भए पनि टिकट खोजीमा धेरै दिन भौतारिनु पर्‍यो। मुस्किलले टिकट पाउँदा फर्किने समयमा भाडा कसरी मिलाउने भन्ने चिन्ता थपिएको छ। बझाङका बसन्तराज जोशीले यसपटक पनि विगतजस्तै टिकट नपाउने सास्ती बेहोर्नु पर्‍यो। मोरङकी सङ्गीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि बसमार्ग रोज्नुपर्‍यो।

हवाई भाडा महँगो भएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीलाई पटक–पटक सस्तो भाडा लिन निर्देशन दिएको छ। यात्रुको चाप बढ्ने भएकाले मन्त्रालय, क्यानका पदाधिकारी र वायुसेवा कम्पनीबीच छलफलसमेत भएको थियो।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सरकारले अधिकतम र न्यूनतम भाडादर तोकेकाले त्यसभन्दा बढी लिन पाइँदैन। धनगढीका लागि तोकिएको उच्चतम भाडा १७ हजार भए पनि हाल १२ हजार ५०० सम्ममा टिकट बिक्री भइरहेको छ। विराटनगरको भाडा पाँच हजार १०० देखि नौ हजार ७०० रुपैयाँसम्म निर्धारण गरिएको छ। यस सीमाभन्दा कम वा बढी लिने कार्य गैरकानुनी हो।

क्यानका नियमअनुसार आन्तरिक उडानमा १९ सिटभन्दा साना जहाजमा एउटै दर लागू हुन्छ भने एटीआर जस्ता ठूला जहाजमा न्यूनतम र अधिकतम भाडा दुवै तोकिएको हुन्छ। हाल देशभर एटीआर–७२ र सिआरजे जहाज सञ्चालनमा छन्। विमान इन्धन दक्षिण एसियामै महँगो भएको, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा बढेको वायुसेवा कम्पनीले जनाएका छन्।

वायुसेवा प्रदायकका अनुसार, दसैँ जस्ता चाडपर्वका बेला यात्रु जाने ठाउँमा चाप अत्यधिक हुन्छ भने फर्कने यात्रु कम हुने भएकाले पनि भाडा महँगो देखिन्छ। साथै, सञ्चालन खर्च, इन्धन मूल्यवृद्धि र युद्धका कारण पार्टपुर्जा महँगो भएको जस्ता कारणले भाडा बढेको कम्पनीको दाबी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म आन्तरिक उडान दैनिक एकसय ६० हाराहारी पुगेको छ भने अन्तर्राष्ट्रिय उडान दैनिक एकसय २० पुगेका छन्। सामान्य अवस्थामा दैनिक ३५० उडान हुने गरेकोमा हाल ४५० भन्दा बढी उडान भइरहेको छ। आन्तरिकतर्फ २१ वायुसेवा कम्पनी र १२ हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन्।

तपाईको प्रतिक्रिया