महोत्तरी। भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिर परिसरमा अहिले भूत मेलाको रौनक छाएको छ। दसैँको आगमनसँगै भूत मेलाको प्रतीक्षा गरेका महोत्तरीसहित मिथिला क्षेत्रका भक्तजन साँझ पर्नासाथ मेला सुरु हुने उत्साहमा छन्।

परम्परागत रूपमा अनादिकालदेखि चल्दै आएको यो भूत मेला बडादसैँको षष्ठी तिथिदेखि सोनामाई शक्तिपीठ (औरही नगरपालिका–७) मा सुरु हुन्छ। हरेक वर्ष यहाँ हजारौँ दर्शनार्थी पुगेर मेलामा सहभागी हुने गर्छन्।

विश्वास अनुसार, भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडितहरू देवीको शक्तिले यहाँ निको हुने गर्छन्। मेला क्षेत्रमा प्रवेश गर्ने बित्तिकै पीडितले आफूलाई सताउने शक्तिबारे बोल्ने, लड्ने, रुँदै–हाँस्दै देवी दरबारसम्म पुग्ने चलन छ। दरबारमा पुगेपछि माताको कृपाले निको भई घर फर्कने विश्वास रहँदै आएको छ।

षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटनगर, काठमाडौँसहित भारतका सीतामढी, मधुबनी र पटना जस्ता सहरबाट समेत हजारौँ भक्तजन सहभागी हुने गर्छन्।

तपाईको प्रतिक्रिया