
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज (शुक्रबार) बिहान ८ बजेदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुँदैछ। बैठकले पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र महाधिवेशन तयारीका विषयमा निर्णय गर्नेछ। यो सभापति रवि लामिछानेको आधार क्षेत्र समेत हो। तर बैठकमा सभापति लामिछाने भने सहभागी हुने छैनन्।
बैठकका अधिकांश प्रतिनिधिहरू बिहीबार रातिसम्म सौराहा आइपुगेका छन्। रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन्। उनले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने अर्का उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन्। त्यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयन प्रक्रियासम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।
बैठकमा पार्टीका केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेश सचिवालय सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशस्थित पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित करिब ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।
प्रदेश सभापतिहरूले आफ्ना प्रदेशभित्रका जिल्ला संगठनको अवस्थाबारे धारणा राख्नेछन्। पेस गरिएका प्रतिवेदनमाथि सहभागीहरूले सुझाव राख्ने र आवश्यक परे तिनलाई परिमार्जन गरी बैठक सक्ने तयारी गरिएको पार्टी केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।
बैठकमा आगामी फागुनमा तोकिएको महाधिवेशनका विषयमा पनि विस्तृत छलफल हुनेछ। सरकारद्वारा तोकिएको सम्भावित निर्वाचन मितिसँगै महाधिवेशन कहिले गर्ने भन्ने विषयमा निर्णय लिइने नेताहरूले जनाएका छन्।
बैठकमा पार्टी संरचनाको पुनर्गठन, अघिल्ला रणनीति र कार्यपद्धतिमा सुधार, सांगठनिक कमजोरी र भावी रणनीति लगायतका विषयमा सघन बहस हुने अपेक्षा गरिएको छ। वैकल्पिक राजनीतिक शक्ति निर्माणका सवालमा पनि गहिरो छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि उत्पन्न विवाद र देखिएको विग्रहबारे पनि बैठकमा चर्चा हुने जनाइएको छ। सो आन्दोलनपछि पार्टीको भावी कार्यदिशा स्पष्ट हुने प्रवक्ता झाले बताएका छन्।







