काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।

उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेश गर्ने पनि जानकारी गराए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् ।

१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।

मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएकी थिइन् ।

माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका थिए ।

त्यसपछि आफूले मत पाउने संकट देखेसँगै उनले राजीनामा घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया