
गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु वर्षको जनवरीदेखि अक्टोबरसम्म दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन्। सो अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले क्षेत्रको भ्रमण गरेका छन्।
सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक र सबैभन्दा कम जनवरीमा नौ हजार ३५९ पर्यटक आएका छन्, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार। सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले भ्रमण गरेकामा सन् २०२५ को पहिलो दस महिनामै सो सङ्ख्या नाघिसकेको छ।
‘जेन्जी’ आन्दोलनलगायत कारणले गत सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अक्टोबरमा भने यस वर्ष एक हजार ५५७ पर्यटक बढी आएका छन्, आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए। उनका अनुसार मे र सेप्टेम्बरबाहेक अन्य महिनामा गत वर्षको तुलनामा पर्यटक आगमन बढी भएको छ। नोभेम्बरपछि आगमन घट्ने र मार्चदेखि पुनः बढ्ने अनुमान गरिएको छ।
विश्वप्रसिद्ध पदयात्रा क्षेत्रका रूपमा चिनिएको अन्नपूर्ण क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्म विदेशी पर्यटकको आगमन बढी हुने गर्छ। सडकमार्ग हुँदै विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गर्नेको सङ्ख्या पनि सोही याममा उच्च रहने गरेको छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग रोज्ने गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा प्राथमिकता दिने गरेका छन्।
‘एक्याप’ले अन्नपूर्ण क्षेत्रमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गर्छ। सडकमार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको आयोजनाले जनाएको छ। अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहँदै आएको छ।
‘एक्याप’का तथ्याङ्कअनुसार सन् २०२३ मा एक लाख ९१ हजार ६६६ विदेशी पर्यटकले भ्रमण गरेका थिए। सन् २०२० मा जम्मा १८ हजार ८३६ पर्यटक आएका थिए, त्यसयता आगमन दर बर्सेनि बढ्दो क्रममा छ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी र पुनहिललगायत गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन्।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति र सम्भावनाका कारण आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ। कास्की, लमजुङ, मनाङ र म्याग्दी मार्ग हुँदै छोटो, मध्यम वा लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ।







