सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा दलित समुदायका घर तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले थुनछेकका लागि अदालतमा पेस गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार यादवलाई कानुनअनुसार नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको हो।

गत असोज १७ गते दिउँसो स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवान गरी पाँच दलित परिवारका घर तोडफोड र लुटपाट भएको थियो। घटनामा ५० जनाभन्दा बढी संलग्न भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवसहित प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मनोज यादव, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनाविरुद्ध आपराधिक उपद्रव र जातीय छुवाछूतसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय मिर्चैयामा किटानी जाहेरी दर्ता गरिएको थियो।

घटनापछि वडाध्यक्ष यादव, गणेश र कैलाश सिंहलाई असोज १८ गते पक्राउ गरिएको थियो भने मनोज यादवलाई असोज २० गते पक्राउ गरिएको थियो। त्यस क्रममा वडाध्यक्ष यादव स्वास्थ्य कारण देखाउँदै हाजिरी जमानीमा रिहा भएका थिए। अदालतले कैलाश सिंहलाई धरौटीमा छाडेको र गणेश कामती तथा मनोज यादवलाई पुर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ।

तर, वडाध्यक्ष यादव पुनः थुनछेकका लागि अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले पुनः अदालतमा पेश गरेको हो।

तपाईको प्रतिक्रिया