काठमाडाै । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिलेको मुख्य प्राथमिकता फागुन २१ को निर्वाचन भएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा उनले निर्वाचनमा जान दल, नागरिक समाजलगायत सबैलाई एकताबद्ध बनाउनुपर्ने दायित्व कांग्रेसको काँधमा रहेको कोइरालाले बताए।

कांग्रेस २१ फागुनको निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिँदै उनले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन्।

‘मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो। त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,’ नेता कोइरालाले भने, ‘तर, निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको हो। यतिबेला देशमा भयरहित वातावरण छैन।’

कोइरालाले राष्ट्र र पार्टी विषम परिस्थितिमा रहेको अवस्थामा पार्टीमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन गर्दै एकताबद्ध पार्टी निर्माण नै आजको आवश्यकता रहेको बताए।

‘यतिबेला नेपाली कांग्रेस आन्तरिक रूपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ,’ उनले भने, ‘मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो। त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ।’

कांग्रेस विशेष महाधिवेशनमा जान नहुनेमा जोड दिँदै नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताए। साथै उनले विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए।

जेनजी आन्दोलनपछि नयाँ सरकार परिवर्तन भए पनि संविधान यथावत रहेको भन्दै २१ फागुनको निर्वाचनमार्फत् बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि उनले बताए।

जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै उनले २३ र २४ भदौको घटनालाई निष्पक्ष छानबिन गरेर वास्तविकता सार्वजनिक गरिनुपर्ने माग पनि गरे।

तपाईको प्रतिक्रिया