काठमाडौं । जेनजी आन्दोलनपछि गुन्डुको अस्थायी निवासबाटै नेकपा एमाले हाँकिरहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय युवाहरुलाई सडक विद्रोहमा उत्रन निरन्तर प्रेरित गरिरहेका छन् ।

आइतबार बसेको राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘बाघले जसरी’ आफ्नो स्वतन्त्रताको उपयोग गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘युवाहरुले डरलाई मनबाट फ्याँकिदिनुस् । काँतर भयो भने देशको अस्तित्व पनि जान्छ,’ ओलीको निर्देशन थियो ।

पार्टीका युवा नेताहरुको तालीले उत्साहित ओलीले स्थानीय प्रशासनको आदेश अवज्ञा गर्न पनि तयार रहन निर्देशन दिएका छन् । ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्ने छैन । हामीले यसरी गर्दैर्छौं स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीको निर्देशन थियो, ‘स्वीकृत दिनुहुन्न भने स्वीकृति चाहिन्न सडकमा उत्रनुस् । संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन ।’

गत २४ असोजमा राष्ट्रिय युवा संघले तय गरेको मोटरसाइकल र्‍याली काठमाडौं प्रशासनले रोक लगाएको थियो । एमाले नेताहरुले स्थानीय प्रशासनको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तर ओलीले युवाहरुलाई दिँदै आएको निर्देशन उक्त घटनामा मात्र सीमित छैन । देशभर एमाले युवाहरुको सुरक्षा दस्ता बन्ने र त्यसमा खटिने पंक्तिलाई प्रेरित गर्नेगरी ओलीले बोलिरहेका छन् ।

‘टोलटोलमा सुरक्षा समिति बनाउनुस्, आफैँआफैँ । एमालेले अगुवाइ गर्छ । हिंसा फैलाउन होइन, अशान्ति फैलाउन होइन । तर कसैले हिंसा फैलाउन खोज्यो भने हुँदैन भन्नुपर्छ,’ ओलीले भन्ने गरेका छन् ।

त्यस्तो सुरक्षा दस्ता स्व:चालित हुने पनि ओलीको सार्वजनिक सन्देश छ । ‘टोल सुरक्षा समितिको आफ्नै नेता हुन्छ, उसैबाट परिचालित हुन्छ । अरु कमिटी समितिको कुरा हुँदैन । पछि पार्टीलाई रिपोर्टिङ हुन्छ,’ उनले भन्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया