
काठमाडौँ। महिला हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मंगलबारदेखि सुरु भएको छ। सो अवसरमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले महिला हिंसासम्बन्धी तथ्यांक समेटिएको वार्षिक पुस्तक‘अन्वेषी २०८२’सार्वजनिक गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगको हलमा भएको कार्यक्रममा आयोगकी सदस्य लिली थापा, राष्ट्रिय दलित आयोगकी सदस्य मिना देवी सोव, ओरेकका संस्थापक अध्यक्ष तथा संरक्षक डा. रेणु अधिकारी र गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले संयुक्तरुपमा सार्वजनिक गरे।
ओरेकले विगत १७ वर्षदेखि महिलामाथि भएका हिंसाका घटनाहरूको तथ्यांक सङ्कलन गरी खण्डीकृत विश्लेषण गर्दै हरेक वर्ष अन्वेषी प्रकाशन गर्दै आएको छ। संस्थाले सार्वजनिक गरेको विवरणअनुसार यो प्रकाशनले महिला हिंसाको यथार्थ जीवनकथा र तथ्यमा आधारित अनुसन्धानमूलक रिपोर्ट प्रस्तुत गर्दै आएको ओरेककी संस्थापक अधिकारीले जानकारी दिइन्। ‘त्यतिबेला सरकारले पनि तथ्यांक राखेको थिएन। हामीले वर्षभरिमा महिला हिंसाको घटना कति छन् भनेर तथ्यांक संकलन र विश्लेषण गर्न थालेका थियौँ। अहिले पनि वर्षेनि यो प्रकाशन भइरहेको छ,’ उनले भनिन्।

उक्त पुस्तकमा हिंसाका सङ्ख्या र स्वरूप, हिंसाका तत्कालीन र दीर्घकालीन प्रभाव, बढी जोखिममा रहेका समूह र सहयोग खोज्दा महिलाले भोग्ने अवरोधहरू समावेश गरिएको छ। त्यस्तै, जब पीडित महिलाहरू सहयोगका लागि सम्पर्क गर्छन्, तब न्यायिक, स्वास्थ्य तथा अन्य सेवा प्रदायकहरू कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा समेत विस्तृत विश्लेषण गरिएको छ।
कार्यक्रममा सहभागीहरूले महिला हिंसा न्यूनीकरणका लागि तथ्यमा आधारित नीति, सेवाप्रदायकहरूमा सम्वेदनशीलता अभिवृद्धि र पीडित केन्द्रित सहयोग प्रणाली आवश्यक रहेकोमा जोड दिएका छन्।
उक्त पुस्तकमा आर्थिक वर्ष २०८१/०८२ मा भएका एक हजार दुई सय ७९ वटा हिंसाका घटनाको विश्लेषण गरिएको छ। सबैभन्दा धेरै हिंसा कर्णाली प्रदेशमा देखिएको छ भने त्यसपछि कोशी प्रदेशमा पनि हिंसाको दर उच्च छ।









